समाचारशनिबार, कार्तिक २२, २०७१
पाइप लाइन निर्माणका लागि कार्यदल गठन
२३ कात्तिकमा काठमाडौंमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र भारतका तर्फबाट पेट्रोलियम मन्त्रालयका अतिरिक्त सचिव राजीवकुमारले नेतृत्व गरेको बैठकमा भारतबाट पेट्रोलियम पदार्थ आयाताका लागि पाइप लाइन निर्माणका लागि पाँच सदस्यीय कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
सहमतिअनुसार नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीका भट्टसहित दुई प्रविधिक र भारतका तर्फबाट वितरण तथा आपूर्ति विभागका कार्यकारी निर्देशक एसएस बोस र पाइन लाइन विभागका कार्यकारी निर्देशक भिएस गाङ्गुली रहेको कार्यदल बनाइएको छ ।
उक्त कार्यदललाई पाइप लाइन निर्माणका लागि प्राविधिक पक्ष, आर्थिक लगानी र निर्माणपश्चात सञ्चालनका कार्यविधि तयार गर्न ७ दिनको समयसीमा दिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटरको पाइप लाइन निर्माण गर्ने सहमतिअनुसार कार्य शुरु गरेको ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
रासस
