समाचारबुधबार, कार्तिक २६, २०७१
रोल्पामा के गर्दैछन् दाहाल
‘सशस्त्र युद्ध’ का बेला माओवादीको ‘हेडक्वार्टर’ भनिएको रोल्पा २४ कात्तिकमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले त्यहाँका कार्यकर्तालाई भेटेर उनीहरुको सपना खेर जान नदिने आश्वासन बाँडदैछन् ।
पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुनको डाँडागाउँस्थित घरमा २५ कात्तिकको रात बिताएका दाहाल २६ कात्तिक दिउँसो रासीमा आयोजित सभालाई सम्बोधन गर्दैछन् ।
रासीको कार्यक्रम पश्चात् दाहालसहितको टोली नेता वर्षमान पुनको गाउँ जङ्कोट माडिचौरमा बास बसेर २७ कात्तिक विहान सदरमुकाम लिबाङ पुग्ने कार्यक्रम छ । यसअघि, माओवादीले युद्ध घोषणा गरेको रोल्पाको होलेरीबाट भ्रमण थालेका दाहालले ‘जनयुद्धकाल’मा आफू बसेका ठाउँ र बंकर हेर्दै स्थानीयसँग भलाकुसारी गरेका थिए ।
भ्रमणका क्रममा २५ कात्तिकमा होलेरीका स्थानीयसँग भेटघाट गरेलगत्तै नुवागाउँ र गैरीगाउँको टिलाका कार्यकर्तासँग भेटघाट गर्दै द्वन्द्वकालमा हेडक्वार्टर राखिएको घर्तीगाउँ, लोसेबाङलगायतका विभिन्न स्थानका कार्यकर्तासँग दाहालले भेट गरे ।
आफू रोल्पाली जनताको मनोेभाव बुझ्न आएको बताउँदै रोल्पाली जनता र ‘जनयुद्ध’ कालका घाइते अपाङ्ग तथा शहीद परिवारको सपना कहिल्यै नभुल्ने दाहालले बताए ।
२५ कात्तिकमा रासीको डाँडागाउँमा दाहालले द्वन्द्वका बेला आफू बसेको घर तथा सुरक्षाका लागि बनाइएका बंकरको अवलोकन गरे ।
