समाचारबिहीबार, कार्तिक २७, २०७१
वैद्य–चन्द टकराव: पार्टी विभाजनको संघारमा
संविधानसभा निर्वाचन बहिस्कार गरी सर्वपक्षीय राजनीतिक सम्मेलनको माग गर्दै आएको नेकपा–माओवादीको असारमसान्तदेखि ५ साउनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले ‘जनयुद्धको जगमा जनविद्रोह’ को प्रस्ताव पेश गरे ।
उनको प्रस्तावमा गाउँ र शहर, वाह्य र आन्तरिक शक्ति सन्तुलन मिलाउँदै जनविद्रोहको दिशामा अघि बढ्नुपर्ने उल्लेख थियो भने सचिव नेत्र विक्रम चन्दले उक्त प्रस्ताव अस्विकार गर्दै “यथास्थितिमा क्रमभंगता इतिहासको अपरीहार्य आवश्यकता” नामक राजनीतिक प्रस्ताव पेश गर्दै पार्टीलाई क्रमश भूमिगत बनाउने, सेना निर्माण गर्ने, संविधान निर्माण प्रक्रियालाई विथोल्न प्रयास गर्नु पर्ने धारणा राखेका थिए ।
त्यसपछि संस्थापन पक्ष र सचिव चन्द समूहवीच राजनीतिक, वैचारिक, संगठनात्मक रुपमै टकराव बढ्दै गयो ।
यसरी बढ्दैछ टकराव
*चन्द हरेक पोलिटब्युरो र पदाधिकारी वैठक बहिस्कार गर्दै छुट्टै आफ्नो समुहको भेला बैठक लगायतको गतिविधि हुनु,
*दुवै पक्षका वेग्ला वेग्लै सांगठनिक गतिविधि हुनु,
*२१ कात्तिकमा चन्दले राजधानीको बल्खुमा आफ्ना पक्षीय केही केन्द्रीय सदस्य तथा कार्यकर्ताको छुट्टै भेला गरी एकीकृत क्रान्तिको सिद्दान्तको कुरा उठाएका छन् । जसमा सशस्त्र संघर्स नै भावी योजना रहने उल्लेख गरिएको छ,
*पदाधिकारी बैठकमा चन्दले ल्याउने प्रस्ताव अल्पमतमा पर्नु ,
*पदाधिकारीमा चन्द एक्लै , पोलिटब्युरोमा खड्गबहादुर विक र केन्द्रीय कमिटीमा ४० जना मात्रै भएकाले संस्थापन सँधै हावी हुनु ,
*चन्दले पटक–पटक अनौपचारिक भेटघाटमा केन्द्रीय कमिटी बैठक आह्वान गर्न दवाब दिएपनि संस्थापन पक्षले वास्ता नगरेपछि आफ्नै राष्ट्रिय भेला बोलाउनु ,
*माथिल्लो कर्णाली परियोजना निर्माणमा भएको सम्झौताको पनि संस्थापन र चन्दले बेग्लाबेग्लै बिज्ञप्ति निकालेर विरोध जनाउनु,
*संगठनात्मक विवाद देखिने गरी केन्द्रीय सदस्य अनिल शर्मालाई कारबाही गरिनु,
*पार्टीमा हरेक निर्णय प्रक्रियामा चन्दले असहमति जनाउनु,
*१ असोजबाट सुरु भई एक साता चलेको पार्टी केन्द्रीय स्कूलिङ विभागको प्रशिकक्षण कार्यक्रममा चन्द समूहले वहिस्कार गर्नु ,
यी घटनाक्रमसँगै संस्थापन पक्ष र बिप्लव टाढिदै गएका बेला बिप्लवले अवध राज्यको आफु पक्षीय भेला आयोजना गरेका छन् ।
भेलाको औचित्य
टकराव बद्ढै जाँदा अवधराज्यको भेला पश्चिम नेपालमा बोलाइएको छ । भेलामा प्रत्येक जिल्लाबाट एक प्रतिनिधि बोलाइएको छ । जसको उद्देश्य कार्यकर्ताभित्र आफ्नो अवस्था बुझ्ने, सुझाव लिने र भावी कार्ययोजना निर्माणको रणनीति निर्माण नै हुने देखिन्छ ।
संविधानसभा, वर्तमान राजनीतिक अवस्थामा कसरी अघि बढ्ने र संस्थापन पक्षलाई शक्ति देखाउन पनि भेला बोलाइएको बताइन्छ । त्यस्तै, आफ्नो बिचारहरु कार्यकर्तासम्म पु-याउने र अन्त्यमा अलग्गै पार्टी निर्माण गरी सशस्त्र संघर्षमा जान सकिन्छ कि सकिदैन भन्ने पनि भेलाले सहयोग पुग्ने चन्दको बुझाई छ ।
यद्यपी, चन्द अहिले बन्ने संविधान स्वीकार्न नहुने र त्यसका लागि तुरुन्त ‘एक्सन’ लिनुपर्ने र त्यो आफुले मात्रै सक्ने भन्ने देखाउन चाहन्छन् । उनी तत्कालै पार्टी फुटाएको सबै दोष लिन तयार नभए पनि नयाँँ पार्टी निर्माणको शुरुवात भने गरिसकेका छन् ।
चन्दले छुट्टै भेला बोलाएपछि वैद्यले पनि पत्रकार सम्मेलन गरी ६ मंसीरमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो बैठकमा दुई पक्षको दुरी झनै बढ्ने देखिन्छ । किनभने वैद्यसँग पार्टीमा सहज बहुमत छ, जसले विप्लवको प्रस्ताव अस्वीकृत गर्ने संभावना छ ।
यता, चन्दले २२ कात्तिकमा चितवनमा पत्रकार सम्मेलन गरेर आफुलाई पाखा लगाएर संविधान बनाए बन्दुक पड्काउने चेतावनी दिएका छन् । जसबाट पनि उनी सशस्त्र संघर्षमा जाने योजनालाई जोड दिएको देखिन्छ ।
तर, विवाद सतहमा वैद्यसँग जस्तो देखिएपनि चन्दका मुख्य प्रतिस्पर्धी रामबहादुर थापा भएको स्रोत बताउँछ । चन्दले थापाको निवास छेउको भित्तामा ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद !’ लेखिदिएका छन् । जुन, नारा माओवादीले २०५२ मा लेखेको थियो । यसले चन्द आफू सशस्त्र युद्धमा जाने तयारीमा रहेको देखाउन खोजेका छन् ।
पार्टी फुट्यो भने
चन्दले नयाँ पार्टी खोलेको अवस्थामा वैद्य र एमाओवादीबीच एकता हुने संभावना बढी छ । वैद्यले एमाओवादीका नेताहरुसँग बढाएको हिमचिमले पनि यो कुरालाई पुष्टि गर्छ । वैद्यले पछिल्लो समय पार्टी एकताको प्रसंंग उठाउँदै आएका छन् ।
यसअघि दुई पार्टीबीच कार्यगत एकता गर्ने भनेर पत्रकार सम्मेलन पनि भएको थियो तर, चन्दका कारण एकीकरण रोकिएको माओवादीकै नेताहरु बताउँछन् । ।
यती हुँदाहुँदै पनि पूर्व लडाकूका केही हतियार जम्मा पारेर चन्द सशस्त्र युद्धमा जालान भन्ने बलियो आधार देखिदैन ।
