समाचारबिहीबार, कार्तिक २७, २०७१
भट्टराई र श्रेष्ठको पत्रकार सम्मेलनः ‘वार्ताबाट भागेका छैनौ’
एमाओवादी नेता बाबुराम भट्टराईको निवास सानेपामा २७ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले सत्तारुढ दलले एमाओवादी सहमतिको बाधक भन्दै लगाएको आरोप गलत भएको दाबी गरेका छन् ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा सहमति जुटाउन सघन छलफल गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई बोलाएर संविधान निर्माणको बाधक एमाओवादीमात्रै हो भन्नुको पछाडि कांग्रेस र एमालेको गलत नियत रहेको आरोप लगाए ।
उनले भने, “कांग्रेस–एमालेले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा ‘सहमति गरे गर, नगर्ने जति बाधक हुन्’ भनेर गरिएको प्रचार सोह्रैआना गलत हो ।”
उनले एमाओवादी सहमतिबाट संविधान निर्माण गर्न तयार रहेको जिकिर गरे । उनले भने, “तर नेपाली कांग्रेस र नेकपा एमालेले केही छाड्नु नपर्ने, एमाओवादीले मात्रै आफ्ना एजेन्डा छाडिदिनुपर्ने र उनीहरुकै घोषणापत्रमा सहमति जनाउनुपर्ने ?”
एमाओवादी अध्यक्ष दाहालले पाँचथरदेखि रोल्पासम्म सभा गर्दै दिएका अभिव्यक्तिबारे दाहाल आफैले प्रष्ट पार्ने भन्दै उपाध्यक्ष श्रेष्ठले पार्टीको आधिकारिक लाइन भनेको ‘८ माघभित्रै सहमतिमा संविधान निर्माण गर्ने’ भएको बताए ।
अध्यक्ष दाहाल रोल्पाबाट फर्किएकै दिन उनको अनुपस्थितिमा गरिएको पत्रकार सम्मेलनको उद्देश्य दाहालसहित कांग्रेस र एमालेलाई सहमतिमा संविधान निर्माण गर्नबाट भाग्न नदिनु रहेको नेता टोपबहादुर रायमाझीको दाबी थियो ।
‘संयुक्त प्रस्ताव संविधानसभामै दर्ता गर’
केही दिनअघि कांग्रेस–एमालेलगायत ४ दलले अघि सारेको संविधान निर्माणसम्बन्धी साझा प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा दर्ता नहुने भन्दै भट्टराईले प्रस्ताव दर्ता गर्ने भए संविधानसभा मै दर्ता गर्न सुझाव दिए ।
भट्टराईले भने, “सत्तारुढ दलको प्रस्ताव संबैधानिक समितिमा दर्ता गर्न सकिंदैन, उहाँहरुले संविधानसभामा लगेर पेश गरे हुन्छ ।’’
उनले आफूहरु संबिधानसभा भन्दा बाहिरबाट संबिधान घोषणा गर्ने पक्षमा समेत नरहेको स्पष्ट पार्दै संविधानका विवादित विषयमा केही गरी सहमति हुन नसके प्रक्रियामा नै जाने भएपनि अन्तिम समयसम्म पनि दलहरुवीच सहमतिलागि प्रयास हुनु पर्ने जिकिर गरेका थिए ।
श्रेष्ठले आफूहरु सत्तारुढ दलहरुले ल्याएको साझा धारणामा छलफल गर्न समेत तयार भएको भन्दै ८ प्रदेशमा सहमति गर्न सकिने बताए ।
पत्रकार सम्मेलनमा एमाओवादी संसदीय दलका उपनेता टोप बहादुर रायमाझी, नेता देवेन्द्र पौडेल र हिसिला यमी पनि सहभागि थिए ।
