समाचारबिहीबार, कार्तिक २७, २०७१
सार्कसम्बन्धी सम्झौता गर्ने अख्तियारी परराष्ट्र मन्त्रीलाई
मन्त्रिपरिषद्को २७ कात्तिकको बैठकले सार्कको काठमाडौं शिखर सम्मेलनमा हुने सम्झौता तयारीका लागि परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
सम्मेलनमा सार्कका मुलुकहरुबीच रेल तथा सवारी साधन सम्झौताका साथै ऊर्जा सहयोगसम्बन्धी विभिन्न सम्झौताहरु हुने बताइएको छ ।
त्यसैगरी सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेल, नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा टीकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको सह–अनुसन्धान निर्देशकहरु यदुलाल खरेल, राजुकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पङ्गेनीलाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री रिजालले बताए ।
त्यस्तै सरकारले स्वास्थ्य शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्माणका लागि उच्चस्तरीय कार्यदल गठन गर्नुका साथै नेपाली सेनाका केही सहायक रथी र महासेनानी अधिकृतहरुको सरुवा पनि गरेको छ ।
