थप समाचारसोमबार, मंसिर १, २०७१

साढे ६१ लाख नेपाली गरीब

हिमालखबर

तस्वीर: इन्टरनेट

तस्वीर: इन्टरनेट

२५ जिल्लाका गरिब परिवारले यस वर्षभित्र गरिब परिचयपत्र पाउने ।
उपत्यकामा दुई लाख गरिब
सबैभन्दा बढी : रौतहटमा दुई लाख २७ हजार
सबैभन्दा कम : मनाङमा दुई हजार एक सय ५०

टेकराज थामी

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार आठ सय ७५ छ । यो कुल जनसंख्याको २३ दशमलब ८ प्रतिशत हो । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ ।

संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा छन् । रौतहटमा दुई लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितिमा ५६ हजार आठ सय ६० र गहन समस्यामा २० हजार एक सय ८९ गरिब छन् । सो जिल्लाको कुल जनसंख्या ६ लाख ८६ हजार सात सय २२ छ ।

संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ हजार पाँच सय ३८ जनसंख्या रहेको मनाङमा दुई हजार एक सय ५० जना गरिब छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या दुई सय ४९ छ ।

त्यस्तै, जनसंख्याको अनुपातका आधारमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । बाजुरामा गरिबको संख्या ८५ हजार आठ सय ६७ छ । यो कुल जनसंख्याको ६४.०४ प्रतिशत हो । कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ छ । सो जिल्लामा २६ हजार नौ सय एक गरिब विषम परिस्थितिमा र ११ हजार ८९ गरिब गहन समस्यामा रहेको तथ्यांक छ ।

तथ्यांक विभागका अनुसार अनुपातका आधारमा सबैभन्दा कम गरिब कास्कीमा छन् । चार लाख ९२ हजार ९८ जनसंख्या रहेको कास्कीमा गरिबको संख्या १९ हजार तीन सय ३० छ । यो कुल जनसंख्याको ४.०२ प्रतिशत हो । तीन हजार आठ सय ८७ विषम स्थितिमा र एक हजार दुई सय ३० गरिब गहन समस्यामा छन् ।

तथ्यांक विभागका निर्देशक डिल्लीराज जोशीले प्रतिव्यक्ति आय र खपत क्यालोरीका आधारमा गरिबको तथ्यांक लिइएको उल्लेख गर्दै गरिबभित्र पनि मुस्किलले खान पुग्ने र नपुग्नेलाई विषम र गहनका रूपमा मापन गरिएको जानकारी दिए । ‘प्रतिव्यक्ति आय र खपत क्यालोरीलाई आधार मानेर गरिब संख्या निकालिएको हो,’ जोशीले भने, ‘गरिबभित्र पनि समानता छैन । कसैलाई मुस्किलले खान–लाउन पुग्छ । कसैलाई पुग्दैन । यसलाई आधार मानेर विषम र गहन अवस्थामा रहेका गरिबको संख्या निकालिएको हो । यसको उद्देश्य गरिब–गरिबबीच पनि दूरी छ भन्न खोजिएको हो ।’

गरिबको मापन

नेपाल जीवनस्तर सर्वेक्षण ०६६–६७ ले क्यालोरी र आम्दानीलाई गरिब मापनको आधार मानेको छ । प्रतिव्यक्ति प्रतिवर्ष दुई हजार दुई सय २० किलो क्यालोरी र प्रतिव्यक्ति प्रतिवर्ष आम्दानी १९ हजार दुई सय ६१ रुपैयाँलाई नेपालमा गरिब मापनको आधार मानिएको छ ।

‘जनगणना ०६८ को तथ्यांक र नेपाल जीवनस्तर सर्वेक्षण ०६६–६७ को विधिलाई गरिबी मापन गर्न प्रयोग गरेका हौँ,’ केन्द्रीय तथ्यांक विभागका निर्देशक डिल्लीराज जोशीले भने, ‘हामीले मुलुकभर गरिबीको पहिचान पनि सोही आधारमा गरेका छौँ ।’

क्यालोरीको मात्रा उमेरअनुसार फरक हुन्छ । सबैभन्दा कम शून्यदेखि ६ महिनाका बालबालिकाले प्रतिवर्ष ३३ केजी क्यालोरी र सबैभन्दा धेरै १९ वर्षभन्दा माथिका पुरुषले प्रतिवर्ष तीन हजार दुई सय ७६ केजी र महिलाले तीन हजार दुई सय ८२ क्यालोरी खपत गर्ने तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, जीवनस्तर सर्वेक्षणका अनुसार १९ हजार दुई सय ६१ रुपैयाँ आम्दानीमध्ये ११ हजार नौ सय २९ रुपैयाँ अवासीय व्यवस्थापनमा खर्च हुन्छ । बाँकी सात हजार तीन सय ३२ रुपैयाँ भने खाद्यान्न व्यवस्थापनमा खर्च हुने तथ्यांक छ ।

कुन–कुन जिल्लामा बाँडिँदै छ परिचयपत्र ?

गरिबीको रेखामुनि रहेका २५ जिल्लाका गरिब घरपरिवारले चालू वर्षभित्रै गरिब परिचयपत्र पाउने भएका छन् । यसका लागि गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले तयारी गरेको छ ।

बोर्डका निर्देशक ढुण्डीराज लामिछानेले चालू वर्षको अन्त्यसम्म परिचयत्रपत्र वितरण गरिने बताए । ‘यस वर्षको अन्त्यसम्ममा परिचयपत्र बाँडिसक्ने लक्ष्य छ,’ लामिछानेले भने, ‘लक्ष्यअनुसार काम हुँदै छ । अहिले संकलित तथ्यांक प्रोसेसिङ हुँदै छ ।’

बोर्डले पहिलो चरणमा अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठानमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यस्तै, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिरहा, खोटाङ र भोजपुरमा पनि चालू वर्षमै परिचयपत्र वितरण हुनेछ ।

बोर्डका अनुसार २५ जिल्लामा १२ लाख ५१ हजार ६ सय ११ घरपरिवार गरिब छन् । गरिबको संख्या भने २० लाख ५३ हजार एक सय ३१ रहेको बोर्डले जनाएको छ । परिवारको आम्दानी तथा खर्चलगायतका विवरण संकलन गरिएको निर्देशक लामिछानेले जानकारी दिए । ‘व्यक्तिभन्दा पनि परिवारको स्थितिलाई आधार बनाएर सर्वेक्षण गरिएको छ,’ उनले भने, ‘निर्धारण गरिएका सूचकांक वैज्ञानिक भएकाले तथ्य पनि वैज्ञानिक ढंगले नै आउनेछ ।’

संकलित तथ्यांकको सबै विश्लेषण एक महिनाभित्र सकिने बोर्डले जनाएको छ । बोर्डका अनुसार पहिचान गरिएका गरिब घर–परिवारको तथ्यांक सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गरिने र त्यसका आधारमा परिचयपत्र वितरण हुनेछ ।

‘हामीले संकलित तथ्यांकलाई पिएमटी (प्रोक्सिम मिन टेस्ट) विधिअन्तर्गत प्रोसेसिङ हुन्छ,’ निर्देशक लामिछानेले भने, ‘फाइन्ड आउट गरिएका तथ्यांक सम्बन्धित निकायमा पेस गरिनेछ । सोही आधारमा परिचयपत्र वितरण हुनेछ ।’ सुरुमा २५ जिल्ला र त्यसपछि क्रमश: अन्य जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने उनले जानकारी दिए ।

उपत्यकामा दुई लाख गरिब

उपत्यकाका तीन जिल्लामा दुई लाख पाँच सय २६ गरिब रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ । सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम ललितपुरमा छन् ।

काठमाडौंमा एक लाख २८ हजार नौ सय ७३ गरिब रहेको तथ्यांक छ । भक्तपुरमा ३६ हजार नौ सय ९९ र ललितपुरमा ३४ हजार पाँच सय ५४ गरिब रहेको विभागले जनाएको छ ।

काठमाडौंका २५ हजार आठ सय १४ गरिबले विषम परिस्थितिमा र सात हजार आठ सय ४५ गरिबले गहन समस्यामा जीवनयापन गरिरहेको तथ्यांक छ । भक्तपुरमा आठ हजार सात सय ४३ विषम परिस्थितिमा र तीन हजार १६ गरिब गहन समस्यामा छन् । तथ्यांकअनुसार ललितपुरमा सात हजार ६८ विषम परिस्थिति र दुई हजार एक सय ५३ गरिब गहन समस्यामा छन् । काठमाडौं, भक्तपुर र ललितपुरको जनसंख्या क्रमश: १७ लाख ४४ हजार दुई सय ४०, तीन लाख ४ हजार ६ सय ५१ र चार लाख ६८ हजार एक ३२ छ ।

तथ्यांक विभागका अनुसार काठमाडौंमा लप्सीफेदी, बज्रयोगिनी, पुखुलाछी, जोरपाटी, डाँछी, भद्रबासमा गरिब परिवारको बसोबास छ । त्यस्तै गोकर्णेश्वर, सुन्दरीजल, गोठाटार, महांकाल, मुलपानी, कपन, चुनीखेल, बूढानीलकण्ठ, भद्रकाली, टोखा, धापासी, गोंगबु, सितापाइलालगायत २४ स्थानमा गरिब धेरै रहेको तथ्यांक छ ।

भक्तपुरमा दुवाकोट, झौखेल, छालिङ, चाँगुनारायण, बागेश्वरी, सुडाल, ताथली, सिपाडोल, कटुन्जे, दधिकोट, सिरुटार, बालकोट, चित्तपोललगायतका स्थानमा गरिब रहेको विभागले जनाएको छ । ललितपुरमा सैंबु, खोकना, धापाखेल, सुनाकोठी, ठेचो, ठैब, हरिसिद्धि, इमाडोल, सिद्धिपुर, टीकाथली, लुभु, लामाटार, गोदावरी, झारुवारासी, गोदामचौर, चापागाउँलगायतका इलाकामा पनि गरिब धेरै रहेको तथ्यांक छ ।

कुन जिल्लामा कति गरिब ?

जिल्ला     गरिब संख्या

ताप्लेजुङ    ३४,०६६
पाँचथर    २१,७२४
इलाम    २१,००५
झापा    ८५,७३६
मोरङ    १,५८,२६१
सुनसरी    ८९,८८८
धनकुटा    २५,६७७
तेह्रथुम    १४,६७७
संखुवासभा    ३३,१४६
भोजपुर    ४४,२६८
सोलुखुम्बु    २६,९६४
ओखलढुंगा    ३०,०१७
खोटाङ    ५१,३१५
उदयपुर    ८१,६१८
सप्तरी    ८१,६१८
सिरहा     २,१९,३३९
धनुषा    १,७४,०७१
महोत्तरी    १,००,५४४
सर्लाही    १,३५,२६८
सिन्धुली     १,१२,३०२
रामेछाप    ५१,४४७
दोलखा    ४८,०६४
सिन्धुपाल्चोक    ७२,६१३
काभ्रे    ५२,०१८
ललितपुर    ३४,५५४
भक्तपुर    ३६,९९९
काठमाडौं    १,२८,९७३
नुवाकोट    ५५,८९५
रसुवा    १३,३२४
धादिङ    ६२,६२१
मकवानपुर    १,१५,४७३
रौतहट    २,२७,०००
बारा    २,०३,४८४
पर्सा    १,७२,५९९
चितवन    ५०,४९४
गोरखा    ५४,८७५
लमजुङ    २७,८९५
तनहुँ    ४७,५३५
स्याङ्जा    ३३,९०९
कास्की    १९,३३०
मनाङ    २,१५०
मुस्ताङ    ४,६३२
म्याग्दी    ३१,३२३
पर्वत    १८,४२६
बाग्लुङ    ६१,१६३
गुल्मी    ७१,३६९
पाल्पा    ५५,९१०
नवलपरासी    १,०८,७९४
रूपन्देही    १,५१,१७१
कपिलवस्तु    २,०१,७७२
अर्घाखाँची    ५६,७३९
प्युठान    ७२,७९१
रोल्पा    ५७,५०४
रुकुम    ५४,४३१
सल्यान    ६९,६०५
दाङ    १,३७,२५५
बाँके    १,२७,६९०
बर्दिया    १,२१,१७८
सुर्खेत    १,०४,४९२
दैलेख    ९३,४२८
जाजरकोट    ६४,१७५
डोल्पा    १५,४५५
जुम्ला    ५२,६०२
कालिकोट    ७८,७४९
मुगु    २५,७८४
हुम्ला    २७,९६२
बाजुरा    ८५,८६७
बझाङ    १,१०,४६५
अछाम    १,२०,९३१
डोटी    १,०१,०००
कैलाली    २,५६,८२१
कञ्चनपुर    १,४०,३८१
डडेल्धुरा    ६०,९१५
बैतडी    १,१४,३५५
दार्चुला    ७०,००३
जम्मा    ६१,४७,८७५

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>