समाचारमंगलबार, मंसिर २, २०७१
कांग्रेस–एमालेले अंक गणितको दम्भ देखाएः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले विगतको सहमति र सम्झौतालाई लत्याउँदा समस्या आएको बताएका छन् । संविधान निर्माणका लागि दबाब दिने उदेश्यले नेपाल पत्रकार महासंघले २ मंसीरमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले कांग्रेस–एमालेले विगतको सहमति र सम्झौतालाई लत्याउन खोजे संविधान लेखन प्रक्रिया जटिल मोडमा पुग्ने चेतावनी दिए ।
सहमतिको प्रक्रियालाई अगाडि बढाउने भन्दा पनि पछिल्लो दिनमा कांग्रेस–एमालेले अङ्क गणितको दम्भ देखाएका कारण समस्या बढेको उनको भनाइ छ ।
उनले भने, “प्रमुख दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति तथा सम्झौतालाई लत्याएर सरकारमा रहेका दलहरु अगाडि बढ्न खोजेका कारण समस्या पैदा हुन्छ कि भन्ने स्थिति देखिएको छ ।”
सबै वर्ग तथा पक्षले अपनत्व महसुस गर्ने गरी संविधान निर्माण हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी हदैसम्म त्याग गर्न तत्पर भएपनि कांग्रेस–एमाले सहमतिभन्दा पनि बहुमतको खेलमा लागेको उनको आरोप छ ।
उनले संविधानसभामा सत्तापक्ष र प्रतिपक्ष नहुने भएपनि सत्तारुढ दलले विभाजनको रेखा कोरेको र सहमतीय प्रक्रिया अगाडि बढ्न नदिएर स्थितिलाई उत्तेजक बनाउने प्रयत्नमा लागेको बताए । उनले भने, “‘काँग्रेस र एमाले २०४७ सालकै संविधानलाई तलमाथि गर्ने प्रयत्नमा लागेका छन्, जुन हामीलाई स्वीकार्य छैन ।’’
रासस
