समाचारबिहीबार, मंसिर ४, २०७१
‘भट्टराईले गैरलोकतान्त्रिक चरित्र देखाए’
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ४ मंसीरमा आयोजना गरेको ‘संविधान निर्माणमा सञ्चारकर्मीको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा एमालेका नेता माधवकुमार नेपालले संवाद समितिको बैठक अवरुद्ध गरी संवाद समितिका सभापति बाबुराम भट्टराईले गैरप्रजातान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् ।
नेता नेपालले एमाओवादीको सल्लाहअनुसार नै कांग्रेस एमालेले लामो छलफलपछि आफ्नो प्रस्ताव संवाद समितिमा पेस गरिएको बताए ।
एमाओवादीले दोस्रो संविधानसभाले दिएको जनमतको अवमूल्यन गरेको आरोप लगाउँदै नेता नेपालले कांग्रेस र एमालेले पेस गरेको प्रस्ताव अन्तिम नभई छलफलका लागि मात्र भएकाले नआत्तिई संवाद समितिको बैठक सञ्चालन गर्न आग्रह गरे ।
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संवाद समितिका सभापतिले समितिको बैठक अवरुद्ध गरेर राजनीतिक संवादको ढोकासमेत अवरुद्ध गरेको बताए ।
सहमतिका नाममा सभापति भट्टराईले अनावश्यक रुपमा समय खर्चेको बताउँदै महामन्त्री सिटौलाले संवाद समितिले संविधानसभाले दिएको निर्देशनसमेत अवज्ञा गरेको आरोप लगाए ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानका विवादित विषयमा दलबीच सहमति हुन नसक्दा दलले गरेको प्रतिबद्धताअनुसार आगामी माघ ८ गते संविधान आउन नसक्ने बताएका थिए ।
