समाचारशुक्रबार, मंसिर ५, २०७१
मोदीको भ्रमण रद्द भएकोवारे जानकारी छैन: राजदुत रे
५ मंसीरमा रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय राजदूत रञ्जित रेले सार्क सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोवारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारे ।
उनले जनकपुर, लुम्बिनि र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफू अचम्ममा परेको बताए ।
राजदूत रेले तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी पछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए ।
पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपालका राजनीतिक दलको हचुवा व्यवहार र अपरिपक्व कुटनीतिका कारण समस्या उत्पन्न भएको आरोप लगाए ।
उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणको विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको बताए ।
उनले भने, “देशमा जति नै ठूलो विवाद भएपनि कुटनीति र विदेश नीतिको मामिलामा संयमित भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्नेमा हाम्रा नेताहरु भने विभाजित भए यसले नै समस्या ल्याएको हो ।”
यसअघि ४ मंसीर साँझ सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको काठमाडौं बाहिरको भ्रमण रद्द भएको खबर आफूले अनौपचारिक रुपमा प्राप्त गरेको बताएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले मोदीको जनकपुर भ्रमण रद्द भएको बारे विज्ञप्ति जारी गरेरै दुख प्रकट गरेका थिए ।
