समाचारशनिबार, मंसिर ६, २०७१
सार्क सम्मेलनमा ट्राफिक व्यवस्था, जोरविजोर प्रणाली क–कसलाई
ट्राफिक प्रहरी महाशाखाले ८ देखि १२ मंसीरसम्म उपत्यकामा सवारीसाधन संचालनमा जोरविजोर नम्बर प्रणाली लागू गरिने जनाएको छ ।
जोर विजोर प्रणालीअनुसार मंसीर ८, १० र १२ गते जोर नम्बर प्लेट र ९ र ११ गते विजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउनेछन् ।
जोर–विजोर प्रणाली उल्लंघन गर्नेेलाई ८ मंसीर एक दिन जुनबाटो आएको हो त्यही बाटो फर्काइदिने र ९ मंसीरदेखि भने सवारी साधन नियन्त्रणमा लिनुका साथै जरिवाना पनि गरिने महाशाखाले जनाएको छ ।
जोर बिजोर कसलाई लाग्ने कसलाई नलाग्ने
ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले सार्क सम्मेलनका बेला अत्यावश्यक सेवाका सवारीसाधन (ग्यास, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ आदि) उपत्यकाबाट बाहिरका लागि चल्ने सवारीसाधन, रात्रि बस र दिवा सेवाका यात्रुवाहक सवारीसाधनलाई सीमित मात्रामा जोरविजोर प्रणाली लागू गरिने बताए भने आकस्मिक सेवाका सवारी साधनमा भने जोर विजोर प्रणाली लागु नहुने जानकारी दिए ।
काठमाडौंबाट बाहिर जाने सवारी साधन बिहान ५ बजे अगावै आफ्नो गन्तव्यतर्फ लाग्नु पर्ने र काठमाडौंम चल्ने सार्वजनिक सवारी साधनलाई विशिष्ट पाहुनाको रुटका आधारमा नियन्त्रित रुपमा समय मिलाएर चल्न दिइने निर्णय भएको पनि अधिकारीले जानकारी गराए ।
त्यसैगरी गृहमन्त्रालयको पास लिएका सरकारी सवारी साधन, सम्बन्धित निकायले दिएको सुरक्षा पासका आधारमा कूटनीतिक सवारी साधन, सञ्चारमाध्यमका सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू नहुने भएको छ ।
पुरानो वसपार्क ८ मंसीरदेखि खाली
सम्मेलनस्थल राष्ट्रिय सभागृह नजिकै रहेको पुरानो बसपार्क ८ मंसीरदेखि नै खाली गरिने भएको छ ।
त्यहाँ पार्किङ हुँदै आएका सवारी साधनका लागि रुटअनुसार सानो–गौचरन, लैनचौर, जडीबुटी, त्रिवि गेट कीर्तिपुरनजिकै र ढुङ्गेअड्डामा पार्किङ्को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्पूर्ण सवारी मार्ग, वैकल्पिक मार्ग, समारोहस्थल, पार्किङलगायत व्यवस्थापन योजना, ट्राफिक परिचालनको योजना, सार्कमा खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई अनुशिक्षण दिइएको प्रमुख अधिकारीले बताए ।
उपत्यकाका विद्यालय, कलेजहरु ९ देखि १२ मंसीरसम्म बन्द रहने र १० र ११ गते सार्वजनिक बिदा दिइएकोले पनि ट्राफिक व्यवस्थापनमा सहज हुने आशा गरिएको छ ।
रासस

