समाचारसोमबार, मंसिर ८, २०७१

कांग्रेस–एमालेका कारण प्रक्रिया नै संकटः २२ दलीय मोर्चा

हिमालखबर

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेका कारण राजनीतिक प्रक्रिया संकटमा परेको आरोप लगाएका छन् । मोर्चाले ८ मंसीरमा पत्रकार सम्मेलन गरेर कांग्रेस–एमालेको १२बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता तथा विभिन्न पक्षबीच भएका सहमति विपरित चल्न खोज्ने प्रवृत्तिका कारण मुलुकको राजनीतिक प्रक्रियामा सङ्कट उत्पन्न भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएको सबै सहमति र सम्झौताको दस्तावेज अन्तरिम संविधान भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गर्न कांग्रेस–एमालेलाई आग्रह गरे ।

‘‘सम्झौता र सहमतिलाई केही होइन, मान्नु पर्दैन र हामीले जे गरेपनि हुन्छ भन्ने मान्यताका आधारमा चल्न खोज्ने प्रवृत्ति सत्ताधारी दलमा देखियो, जुन प्रवृत्तिले अग्रगमन र शान्ति प्रक्रियालाई सङ्कटमा धकेलिदिएको छ,” उनले भने, “हामी त्यसो हुन दिने पक्षमा छैनौं ।’’

माओवादीसँग सम्झौता गर्‍यो भनेर गिरिजाप्रसाद कोइरालालाई गाली गर्नेहरू नै कांग्रेसको नेतृत्वमा पुगेको र संविधानसभा हाम्रो एजेण्डा होइन भन्दै सार्वजनिक भाषण गर्नेहरू एमालेको सर्वोच्च स्थानमा रहेका कारण सहमतीय प्रक्रियामा संविधान निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको उनको जिकिर छ ।

उनले राजनीतिक निकासको चाबी सत्तारुढ दलको हातमा रहेको बताए । सत्तारुढ दलको तर्फबाट संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरिएको नौबुँदे प्रस्ताव यथास्थितिवादी भएको भन्दै उनले सङ्घीयताको नाममा विकेन्द्रिकरण तथा भौगोलिक विभाजन मात्रै भएकाले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा उनले सार्कलाई सफल बनाउन २२ दलीय मोर्चाले नै विशेष पहल गर्ने बताए । नेपालको राजनीतिक परिवर्तनले विश्व समुदायमा पारेको सकारात्मक प्रभावलाई सार्क क्षेत्रमा प्रचारप्रसार गर्नु जरुरत रहेकामा जोड दिँदै उनले सार्क क्षेत्रका राष्ट्राध्यक्ष/सरकार प्रमुख प्रमुखलाई न्यानो स्वागत गर्न आफूहरू तयार रहेको धारणा राखे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>