समाचारबुधबार, मंसिर १०, २०७१
दक्षिण एशियाली रिपोर्टिङः भारत–पाक सम्बन्धको दबदबा
भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनको सम्बोधन भाषणमा मुम्बई बम काण्डको सन्दर्भ उल्लेख गरेकोलाई प्राथमिकतासाथ उठाइरहेका छन् ।
भारतीय टेलिभिजन र पत्रिकाका अनलाइन संस्करणहरुले मोदीले सन् २००८ मा मुम्बईमा भएको बम विष्फोटको स्मरण गर्दै यसक्षेत्रबाट आतंकवादलाई समाप्त गर्न सहकार्य हुनुपर्नेमा जोड दिएकोलाई शीर्ष समाचार बनाएका छन् ।
२००८ मा भएको उक्त विष्फोटमा पाकिस्तानको सहयोग रहेको भारतले आरोप लगाउँदै आएको छ ।
‘आजतक’ र ‘एबीपी’ न्यूज जस्ता समाचार च्यानलहरुले त काठमाडौंबाटै प्रत्यक्ष प्रसारण गर्दै मोदी र नवाज शरीफबीच हेराहेर समेत नभएको भन्दै समाचार बनाइरहेका छन् । सार्क सम्मेलनलाई सम्बोधन गर्न प्रधानमन्त्री नवाज शरीफ कुर्सीबाट उठेर पोडियमसम्म गएको दृष्य बारम्बर देखाइरहेका भारतीय टेलिभिजनहरुले भनिरहेका छन्, “हेर्नुहोस छेवैबाट हिंड्दा पनि शरीफले मोदीतर्फ हेरेनन् ।”
यसै पनि सार्कको गतिशिलता भारत–पाकिस्तान सम्बन्धमा निर्भर रहेको छ र सार्कलाई त्यो निर्भरताबाट बाहिर निकालेर गतिशिल बनाउनु अध्यक्ष राष्ट्रका हैसियतले नेपालका लागि चुनौती बनेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री नवाज शरीफको ‘विवादरहित दक्षिण एशियाको निर्माण गरौं’ भन्ने भनाईलाई नै प्रमुख समाचार बनाएका छन् । उनीहरुले सार्कलाई कसरी अगाडि बढाउने भन्ने भारतीय प्रधानमन्त्री मोदी र भारतको परराष्ट्र नीतिमा नै निर्भर रहेको उल्लेख गरेका छन् ।
दुवै देशका प्रधानमन्त्री बीच भेट हुने वा नहुने भन्ने विषय पनि त्यहाँका सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ उठाइरहेका छन् । एउटा देशले अर्को देशलाई द्विपक्षीय वार्ताका लागि पहल नगरेको भन्ने आरोप पनि लागेको छ ।
श्रीलंका र बंगलादेश
श्रीलंका र बंगलादेशका सञ्चारमाध्यमहरुले पनि आफ्नै देशका प्रधानमन्त्री/राष्ट्रपतिको सम्बोधनलाई प्राथमिकता दिइरहेका छन् ।
सार्क राष्ट्रहरुबीच ‘कनेक्टिभिटी’ का लागि भौतिक पूर्वाधार निर्माण र द्विपक्षीय विवादहरु आपसी छलफलद्वारा समाधान गर्दै सार्कलाई गतिशिलता दिनुपर्नेमा दुवै देशका सञ्चारमाध्यमहरुले जोड दिएका छन् ।
उनीहरुले भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धले सार्कका मुद्दाहरु ओझेलमा पर्न नहुने पनि उल्लेख गरेका छन् ।
श्रीलंकाली सञ्चारमाध्यमहरुले ‘सार्कलाई परम्परागत दायराबाट बाहिर निकालेर नयाँ अध्याय शुरु गर्नु अहिलेको आवश्यकता’ भन्ने श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षको भनाईलाई हेडलाइन बनाएका छन् ।
राजापाक्षले ९ मंसीरमा गरेको लुम्बिनी भ्रमणलाई पनि त्यहाँका सञ्चारमाध्यमले प्रमुखतासाथ उठाउँदै श्रीलंका, भारत र नेपाल मिलेर बुद्ध सर्किट बनाउनुपर्नेमा जोड दिएका छन् ।
अफगानिस्तान
सीमित सञ्चारमाध्यमहरु रहेको अफगानिस्तानको समाचार पोर्टल ‘पाजहोक अफगान न्यूज’ले त्यहाँका राष्ट्रपति असरफ घानीले अफगानिस्तानको भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन नदिने र अरु देशहरुबीच छद्म युद्दका लागि समेत अफगानी भूमि प्रयोग हुन नदिने भनाईलाई प्रमुखता दिएर उल्लेख गरेको छ ।
त्यसैगरी अमेरिका नेतृत्वको गठबन्धन सेनाले अफगानिस्तान छोडेपछि छिमेकी मुलुकले खेल्ने अझ बढी ठाउँ पाउने पनि समाचारमा चिन्ता गरिएको छ । पाकिस्तानले अतिवादलाई प्रोत्साहन दिएर अफगान सत्तामा दखल दिएको र भारतको सक्रियता पनि बढी नै भएको समाचारमा उल्लेख छ ।
