समाचारशुक्रबार, मंसिर १२, २०७१
‘हरियाली काठमाडाैं’ अभियान जारी रहने
‘हरियाली काठमाडौं’ अभियानलाई जारी राख्न काठमाडौं महानगरपालिकाले सार्कको अवसरमा सडकका दायाँबायाँ रोपिएका कपुर, जापानी चेरी (आरू फूल) फूल, धूपीसल्ला, असारे फूल, पैयूँजस्ता रूख–बिरुवालाई संरक्षण गर्न दैनिकजसो मलजल गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
सार्कको अवसरमा महानगरपालिकाले रु ९ लाख मुल्यका ५०० गमला, १० लाखका झन्डै दुई हजार साना÷ठूला रूख बिरुवा र रु १३ लाखका ४७५ वटा रूख अडाउने बार (ट्रि गार्ड) पनि राखेको छ ।
पहिलेपहिले सडकमा राखिएका गमला र फोहोर फाल्ने भाँडो (डस्टविन) चोरी भएता पनि सार्क सुरुभएदेखि अहिलेसम्म कुनै पनि स्थानबाट एउटा पनि गमला वा फूल चोरी नभएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले सार्कपछि पनि हरियाली काठमाडाँै अभियानलाई निरन्तरता दिँदै नियमित सरसफाइ गर्ने बताए ।
सार्कको समयमा महानगरपालिका र अन्य निकायले समेत सकड किनारमा नयाँनयाँ रूख–बिरुवा र फूल रोपेका छन् ।
महानगरपालिकाले रत्नपार्क, टुँडिखेल र कान्तिपथमा निजी क्षेत्र, तिनकुनेमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, वायुसेवा निगम अगाडि नबिल बैंक र सोल्टीमोडमा लिङ्कन कलेजका विद्यार्थीले नयाँ रूख/बिरुवा रोप्ने कार्य गरेका हुन् ।
त्यसैगरी पुनःसंरचनाको क्रममा रहेको खुल्लामञ्च फुटपाथ पसलको लागि नभएर सामूहिक प्रयोगका लागि केही महिनामै खुल्ला गरिने महानरपालिकाको भनाइ छ ।
रत्नपार्कको पनि पुनःनिर्माण सकिएपछिसर्वसाधारणलाई प्रवेशका लागि न्यूनतम शुल्कको व्यवस्था गर्ने तयारीमा महानगरपालिको छ ।
