समाचारशनिबार, मंसिर १३, २०७१

सार्क सम्मेलन भव्य रुपमा सम्पन्न भएको एमाओवादी मोर्चाको निष्कर्ष

हिमालखबर

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा १३ मंसीरमा बसेको एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठकले सार्क सम्मेलनका अवसरमा मुलुक एकीकृत भएर लागेको र सबैले उत्तिकै सहयोग गरेको ठहर गर्दै सहमति भएका विषयको ठोस कार्यान्वयन हुनुपर्ने बताएको छ ।

सरकार पक्ष र प्रतिपक्ष नभनीकन क्षेत्रीय सङ्गठनको सम्मेलन सफल पार्न भूमिका खेलेको र आगामी दिनमा त्यसबाट पारित भएका विषयको पूर्ण कार्यान्यवन हुनुपर्ने र त्यसका लागि सरकारले विशेष तत्परता अपनाउनसमेत मोर्चाले आग्रह गरेको छ ।

सार्क सचिवालयलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि पनि मोर्चाले माग गरेको छ ।

दक्षिण एसियाली क्षेत्रमा गरिबीको दर उल्लेख्य रहेकाले त्यसविरुद्धको लडाईंलाई केन्द्रित गर्न र प्रतिबद्धतालाई कार्यान्वयन गर्न तथा गराउन पनि मोर्चाले ध्यानाकर्षण गराएको छ ।

यस्तै संविधान निर्माणमा देखिएका विवादित विषयमा समेत तत्काल सहमति जुटाएर आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि मोर्चाले विशेष पहल गर्ने निर्णय गरेको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले मोर्चाले हालसम्म आयोजना गरेको जनसभा र सङ्घर्षका कार्यक्रमको समीक्षा गरिएको र आगामी दिनमा के–कस्तो कार्यक्रम र रणनीति अगाडि बढाउने भन्ने विषयमा समेत बैठकमा विचार विमर्श भएको बताए ।

दाहालले भने, “आइतबार मोर्चा र सरोकार भएका सबै पक्षसँग छलफल गरेर अगाडि बढ्छाँै । तोकिएको समयमा संविधान जारी गरिनुपर्छ । त्यसका लागि मोर्चामा रहेका दलहरु प्रतिबद्ध छन् ।”

बैठकमा मोर्चाका आबद्ध दलहरुले तत्काल जनपरिचालनका कार्यक्रम अगाडि सार्नुपर्ने धारणा राखेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>