समाचारशनिबार, मंसिर १३, २०७१
गढीमाई मेलामा ५ को मृत्यु
बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा लागेको मेला हेरेर फर्कदै गर्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गढीमाई मेलामा दर्शन गर्न आएकी भारत सितामढी घर भएकी ६५ बर्षीया पानकुमारी देवीको भिडमा च्यापिएर मृत्यु भएको छ भने भारत छप्रा बनियापुरकी बालिकाकोे चिसोले कठ्याग्रिएर मृत्यु भएको छ ।
त्यसैगरी सर्लाहीका २१ बर्षीय पप्पु सिंहको वरियारपुरमा टयाक्टर दुर्घटनामा परेर तथा सर्लाहीकै महेश्वपुर– १ का ५४ बर्षीया दुलारी मण्डलको मेलामा जाने क्रममा सर्लाहीको रानीगंजमा जीप दुर्घटनामा परी ज्यान गएको हो ।
त्यस्तै सर्लाही,– ५ की १८ बर्षीया रञ्जुकुमारी रामको छारे रोगका कारण मृत्यु भएको छ ।
मेला हेर्न आएका कतिपय दर्शनार्थीहरु फर्कने सवारीसाधन नपाउँदा अलपत्र परेका छन् ।
भारतको असामबाट आएका दुर्योधन मिश्राले बरियारपुरबाट पैदल हिंडेर कलैया पुगेपनि कलैयाबाट कुनै सवारी साधन नपाउँदा अलपत्र परेको दुखेसो पोखे ।
नेपाल तथा भारतको बिभिन्न ठाउँबाट बाराको वरियारपुरस्थित गढीमाईको दर्शन गर्न आउँने दर्शनार्थीहरु आउने क्रम जारी नंै छ ।
ठूलो मात्रामा पशुबली दिइने यस मेलामा १२ मंसीरमा करिब ६ हजार राँगाको बलि दिईएको थियो भने शनिबार बोकाको बलि दिईएको छ ।
मंसीर १ गतेबाट शुरु भएको मेला एक महिना सम्म चल्ने मेला ब्यवस्थापन समितिले जनाएको छ ।
श्याम गुप्ता, बारा

