समाचारसोमबार, मंसिर १५, २०७१
सहमतिको नाममा समय खेर नफालौंः रावल
एमाले उपाध्यक्ष रावलले सहमति र संवादको नाममा अझै समय खेर फाल्न नहुनेमा जोड दिएका हुन् । रिपोर्टर्स क्लबले १५ मंसीरमा गरेको कार्याक्रममा उनले संविधानसभा नियमावली संशोधन गरेर पनि ८ माघमै संविधान जारी गर्नुपर्ने बताए ।
”प्रक्रिया छोट्याएर भए पनि ८ माघमा संविधान जारी गर्नुपर्छ, सहमतिको नाममा समय खेर फाल्नुहुन्न,” उनले भने ।
उनले एमाओवादीले भने जस्तै एकल जातीय पहिचान कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले कांग्रेस–एमालेले ल्याएको प्रस्ताव जनताको पक्षमा रहेको दावी गरे ।
उनले भने, “हामी गरेको प्रस्ताव संवाद समितिले संविधानसभामा पेश गर्नुपर्छ, हामी त्यस्तामा अडिग छौं ।”
कार्यक्रममा एमाओवादी नेता दिनानाथ शर्माले गणितीय बलमा संविधान जारी गर्न खोजिए आफूहरु जनताको माझामा जाने चेतावनी दिए । उनले बिना सहमति संविधान जारी भए मुलुक द्वन्द्वमा फस्ने बताए ।
नेपाल कांग्रेसकी नेतृ सुजाता कोइरालाले संघीयतालाई थाति राखेर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “संघीयता लगायतका विवादित विषयलाई थाति राखेर भए पनि ८ माघमा संविधान जारी गर्नुपर्छ ।”

