समाचारमंगलबार, मंसिर १६, २०७१

विद्युतीय शवदाह गृह तीन महिनापछि सञ्चालनमा आउने

हिमालखबर

रु ११ करोड अनुमानित लागतमा साढे दुई वर्षअघिदेखि पशुपति क्षेत्रमा निर्माण शुरु भएको विद्युतीय शवदाहगृह तीन महिनापछि सञ्चालनमा आउने पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले बताएका छन् ।

शवदाहगृहको काम सकिन लागेको र शव राख्ने ठाउँ (फरर्नेस) को काम पनि ७० प्रतिशत सकिसकेको कोषका वरिष्ठ निर्देशक श्याम शेखर झाले जानकारी दिए ।

शवदाहका लागि ‘इन्डोमेन इन्जिनियरिङ वर्क’ कोलकात्ता भारतबाट रु तीन करोड ६० लाखमा शवदाह मेसिन खरिद गरिएको छ । सो मेसिन जडानका लागि कम्पनीका मिस्त्री नेपाल आई काम गरिरहेको झाले बताए । विद्युतीय शवगृहमा पौने घन्टामा शव खरानी बन्ने झाले जानकारी दिए ।

शवदाहगृहमा करिब २० शव राख्न सकिने फ्रिजसहितको भण्डार रहनेछ । साथै क्रियापुत्रीका लागि तातो र चिसो पानी व्यवस्था भएको स्नानगृहसहितका कोठाहरू पनि रहनेछन् । शवदाह गर्ने बेलामा मलामी रहने कोठाको पनि निर्माण गरिएको छ ।

गृह सञ्चालनमा आएपछि २४ घन्टा विद्युत् आवश्यक पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणसँग साढे २१ लाखमा विद्युत् जडानको सम्झौता गरिएको छ । सव–स्टेसन निर्माणको काम पनि भइरहेको बताउँदै वरिष्ठ निर्देशक झाले शवदाहबाट निस्कने धुवाँ छानिएरमात्र निस्कने व्यवस्था भएकाले वायु प्रदूषण धेरै नहुने बताए ।

काठमाडौँको पशुपति आर्यघाटमा दिनहुँ १५ जनाभन्दा बढी मानिसको दाहसंस्कार हुन्छ । प्रतिशव २५० किलो दाउरा आवश्यक पर्छ । दिनमा पाँच हजार किलोग्रामभन्दा बढी दाउरा दाहसंस्कारका लागि आर्यघाट दाउरा डिपोले बिक्री गर्ने गरेको छ ।

दाउराको प्रयोगले हुने वायु प्रदूषण रोक्न, वातावरण स्वच्छ राख्नमात्र होइन विद्युतीय शवदाहगृह सञ्चालनमा आएपछि खर्च र समयको पनि बचत हुने छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>