समाचारमंगलबार, मंसिर १६, २०७१
केरुङमा रात बस्न नपाइने
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानका अनुसार रसुवा जिल्लावासीबाहेक अन्य जिल्लाका नेपालीलाई एकदिने अस्थायी प्रवेशाज्ञा मात्र उपलब्ध हुने भएकाले केरुङमा रात बिताउन नपाउने र बिहान चिनियाँ भूभाग गएपछि साँझ नेपाल फर्कनुपर्ने छ ।
यसअघि दुवै क्षेत्रमा अध्यागमन नहुँदा आपसी समन्वयका आधारमा केरुङ पुगेका नेपाली साँझ उतै बास बस्दै आएका थिए ।
नेपाल–चीन सीमा क्षेत्रका प्रस्थान/प्रवेश अनुमतिपत्र पाएका रसुवाली नागरिकले भने चीन सरकारले निर्धारण गरेको क्षेत्रमा आफ्नो इच्छाअनुसार घुम्न र बस्न पाउने छन् ।
नेपाल–चीनबीच सामान आयात निर्यात गर्ने व्यवसायी र ट्रक व्यवसायीलाई एकवर्षे प्रवेशाज्ञा दिइने र आवश्यकताअनुसार ओहोरदोहोर गर्न दिइने छ ।
यस्तै इराक, अफगानिस्तान, घानालगायत ११ देशका नागरिकबाहेक नेपाल घुम्ने अनुमति पाएका अन्य देशका नागरिकले चीनको भू–भागमा जान चाहे एकापसी समन्वय र आ–आफ्नो मुलुकको नीतिनियमको अधिनमा रही अनुमति दिन सकिने प्रमुख प्रधानले जानकारी दिएका छन् ।
रासस
