समाचारबिहीबार, आश्विन २५, २०६९
एमाओवादी र कांग्रेसबीच सिन्धुलीमा झडप
२५ असोज बिहान सिन्धुलीको मरिण क्षेत्रको मथौली भन्ने स्थानमा नेपाली कांग्रेस महासमिति सदस्य नवराज श्रेष्ठ लगायतको समूहमाथि एमाओवादीका वाइसिएलले कुटपिट गरी घाइते बनाएपछि कांग्रेस कार्यकर्ताले सदरमुकाम सिन्धुलीमाढीमा एमाओवादीका जिल्ला सह–इन्चार्ज राजन दाहालको टोलीमाथि कुटपिट गरेका छन् । दुवैपक्ष भिडन्तमा उत्रिएपछि सदरमुकाम सिन्धुलीमाढी तनावग्रस्त बनेको हो ।
मरिण क्षेत्रमा कुटपिट गरिएका नवराज श्रेष्ठ, कान्छाराम तामाङलगायत गम्भीर घाइते भएको र उनीहरुलाई एमाओवादीका कार्यकर्ताहरुले अपहरण गरेको कांग्रेस जिल्ला सभापति मोहन बरालले जानकारी दिए । सदरमुकाम सिन्धुलीमाढीमा भएको झडपमा एक प्रहरी र केही कांग्रेस कार्यकर्ता घाइते भएको बताइएको छ ।
सिन्धुलीमाढीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी झडप नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार मरिण क्षेत्रमा भएको घटनाको विवरण पूर्णरुपमा आएको छैन र घटनामा कोही पनि हताहत भएका छैन ।
अहिले सदरमुकाम सिन्धुलीमाढीका पसल तथा यातायात सम्पूर्ण बन्द छ ।
