समाचारशुक्रबार, मंसिर १९, २०७१
एमाओवादीले २० दलीय मोर्चाबाट पनि साझा धारणा बनाउने
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा १९ मंसीरमा बसेको संयुक्त बैठकले एमाओवादीका महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा साझा धारणा बनाउन कार्यदल गठन गरेको छ ।
कार्यदलको सदस्यमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई छन् ।
उनीहरुले पहिचानमा आधारित संघीयता र संघीयतासहितको संविधान जारी गर्न साझा धारणा बनाउने भएको हो ।
यसबाहेक एमाओवादीसँग अरु दुई वटा मोर्चा छ । उसले संविधानसभामा प्रतिनीधित्व नगर्ने दलसहितको २२ दलीय मोर्चा र संविधानसभा बहिष्कार गर्न बनाइएको संयुक्त गणतान्त्रिक मोर्चाको नेतृत्व गरिरहेको छ ।
