समाचारशनिबार, मंसिर २०, २०७१
मालदिभ्समा पानीको हाहाकार, भारत र श्रीलंकाले पानी पठाए
मालदिभ्समा पानीको अभाव भएपछि भारतले एयर फोर्सको विमानबाट २०० टन पानी पठाएको छ भने श्रीलंकाले पनि १ लाख बोत्तल पानी पठाएको छ ।
समुद्रले चारैतीरबाट घेरेको मालेमा जमिन मुनीको पानी काम लाग्दो छैन । राजधानी मालेमा समुद्रको पानीलाई प्रशोधन गरेर वितरण गरिंदै आएकोमा पानी प्रशोधन केन्द्रमा आगो लागेपछि त्यहाँ पानीको हाहाकार भएको हो ।
मालदिभ्सका आर्थिक विकास मन्त्री मोहम्मद शरीफले मालेमा संकटकाल घोषणा गरिएको तथा भारत, श्रीलंका, चीन र अमेरिकासँग सहयोगको अपिल गरिएको बताएका छन् ।
अहिले सरकारले पिउनका लागि बोतलको पानी उपलब्ध गराए पनि अन्य कामका लागि पानीको चर्को अभाव छ । यद्दपी पिउने पानी पनि मालदिभ्स बाहेक अन्य देशका कामदारहरुका लागि दिइएको छैन । यसैबीच मालेमा पानीको पसलमा समेत आक्रमण भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतले पाँचवटा ठूला मालवाहक विमानमा पानी पु¥याउनुका साथै पानी प्रशोधन गर्ने संयन्त्र जडित पानी जहाज पनि पठाउँदैछ । त्यसैगरी श्रीलंकाले पानी प्रशोधन यन्त्रलाई तत्कालका लागि आवश्यक पार्टपूर्जा र थप पानी पठाउँदैछ ।
पानी प्रशोधन गर्ने प्लान्टका विभिन्न पूर्जाहरु विदेशबाट मगाउनु पर्ने भएकाले प्रशोधन संयन्त्र निर्माणमा अझै ५ दिन लाग्ने बताइएको छ ।
मालेमा रहेका ठूला होटेल अस्पतालहरुले त्यहाँको कानून अनुसार आफ्ना लागि पानी प्रशोधनको व्यवस्था मिलाएको भए पनि स्थानीय वासिन्दा भने सरकारले प्रशोधन गरेर वितरण गर्ने पानीमै निर्भर छन् ।
एजेन्सी

