थप समाचारशनिबार, मंसिर २०, २०७१

स्वीट्जरल्याण्डका नेपाली ज्वाईं

हिमालखबर

– डम्बरकृष्ण श्रेष्ठ

 

बेहुला बनेका दिनेश कार्की स्वीस श्रीमतीसँग

बेहुला बनेका दिनेश कार्की स्वीस श्रीमतीसँग

नेपाल आएका स्वीस पर्यटकसँग मायाप्रीति गाँसिएपछि हेटौंडाका गोपाल तामाङ बम्जन (३५) र चितवन मेघौलीका राम परियार (२८) को घरबार स्वीट्जरल्याण्डमै भयो।

सन् २००४ मा साण्ड्रा कापलरसँग पोखरामा भेट भएका गोपाल काठमाडौंमा र्याभफ्टिङ कम्पनी चलाइरहेका थिए।

“तीन साताको सहयात्रामा हामी एकअर्काको प्रेममा पर्‍यौं” गोपाल भन्छन्, “त्यसपछि भ्रमण भिसामा स्वीट्जरल्याण्ड आएँ।”

अहिले गोपाल र साण्ड्राका आठ, पाँच र अढाइ वर्षका तीन छोरा छन्।

यसैगरी, सात वर्षअघि नेपाल घुम्न आउँदा अपर–सेतीमा र्याडफ्टिङ गर्ने क्रममा पहिलो नजरमै राम परियारको प्रेममा परेपछि पेट्रा जेम एक वर्षपछि स्वयंसेविकाको रूपमा नेपाल आइन्।

त्यो पाँच महीने संगतमा एकअर्काबाट अलग हुन नसक्ने निधो भएपछि राम भिजिट भिसामा स्वीट्जरल्याण्ड आए।

अहिले उनीहरूका दुई छोरी छन्। लुर्चेन शहरको सिटी अस्पतालमा स्टाफ नर्स रहेकी पेट्राले माया बसेपछि जात वा राष्ट्रको सीमा नहुने बताइन्।

“त्यसमाथि नेपाल र स्वीट्जरल्याण्डको त भौगोलिक बनावट पनि मिल्छ”, उनले भनिन्।

२०१३ सालमा स्वीस भूगर्भशास्त्री टोनी हागनको नेपाल आगमनपछि नेपाली र स्वीस नागरिकबीच घरजमको कथा शुरू भएको हो।

राम परियारको परिवार

राम परियारको परिवार

हागनको अध्ययन–अनुसन्धानले नेपालमा स्वीस विकास परियोजना शुरू भयो।

२०४२ सालमा दोलखाको जिरी–चरिकोट सडक बनाइसकेर स्वीट्जरल्याण्ड फर्कंदा स्वीस इन्जीनियरहरूले दुलही लिएर आएका थिए।

त्यसबेला २० जना स्वीस प्राविधिकले नेपाली श्रीमती लिएर फर्केको गैर–आवासीय नेपाली संघ (एनआरएन) स्वीट्जरल्याण्डका अध्यक्ष धर्म गुरुङ बताउँछन्।

स्वयम् पनि स्वीट्जरल्याण्डका नेपाली ज्वाईं रहेका धर्म भन्छन्, “अहिले त स्वीट्जरल्याण्डमै घरजम गरेर बस्ने नेपाली २५० जति होलान्।”

यहाँ घरजम गर्नेमा धर्म जस्ता पढ्न आएकादेखि नेपाल घुम्न पुगेका स्वीस युवतीहरूसँग प्रेममा परेर आएका गोपाल वा रामसम्मका नेपाली छन्।

त्यसमध्ये ७० प्रतिशत टुरिष्ट गाइड, पोर्टर र वेटरदेखि होटल म्यानेजर र ट्रेकिङ सुपरभाइजरसम्मका पर्यटन क्षेत्रसँग सम्बन्धित भएको एनआरएन अध्यक्ष गुरुङ बताउँछन्।

स्वीस महिलाहरूसँग विवाह गर्ने सबै नेपालीको घरजम राम्रो छ भन्ने चाहिं होइन।

जस्तो, सिन्धुपाल्चोकका दिनेश कार्की (३४) को प्रेम विवाह पाँच वर्षमै सम्बन्धविच्छेदमा टुंगिएको छ।

त्यस्तै, स्वीस युवतीसँगको विवाह असफल भएका एनआरएन अध्यक्ष धर्म गुरुङ भन्छन्, “नेपालमै लभ गरेर यता घरजम गर्नेहरूको सम्बन्ध बढी दीगो देखिएको छ।”

नेपाल मोह
स्वीट्जरल्याण्डमा घरजम गरे पनि धेरैजसोको चाहना भविष्यमा नेपाल नै फर्कने छ।

राम र पेट्रा दम्पतीले मेघौलीमा रु.५० लाखको हात्तीसहित करीब रु.२ करोड खर्चेर चितवन ब्याम्बो लज एण्ड रिसोर्ट खोलिसकेका छन्।

तीन वर्षअघि स्थापित रिसोर्टले १४ जनालाई रोजगारी दिएको छ। नेपालको पर्यटन व्यवसायमा भविष्य देख्ने यो दम्पतीको नेपाल आउजाउ पनि बाक्लो छ।

दुःखपूर्ण बाल्यकाल बिताएका राम रोजगारी सिर्जना गरेर आफ्नो गाउँको मुहार फेर्न चाहन्छन्।

उनी फ्रेण्डशीप क्लिनिक नेपाल नामक संस्था चलाएका हरि भण्डारीको सहयोगमा ९ कक्षासम्म पढेको भरमा पर्यटन व्यवसायमा आएका थिए।

गोपाल तामाङ बम्जनको परिवार ।

गोपाल तामाङ बम्जनको परिवार ।

“पेट्राले अस्पताल र मैले फलाम कम्पनीमा ९ घण्टा काम गरेको तलब रिसोर्टमा लगाएका छौं”, राम भन्छन्, “त्यसले कमायो भने गाउँकै विकासमा लगाउँछु।”

गोपाल र साण्ड्राको पनि नेपालमै व्यवसाय गर्ने योजना छ। नेपालमा माओवादी द्वन्द्व चर्किएसँगै बच्चाहरूको पढाइको प्रश्न आएपछि यतै बसिरहेको यो दम्पतीको नेपाल योजना कायमै छ।

आफ्नै गाउँ लमजुङको भोटेओडारमा बाख्रा फार्मदेखि काठमाडौंमा होटल खोल्नेसम्मका योजना बुनिरहेका एनआरएन अध्यक्ष गुरुङ भन्छन्, “स्वीट्जरल्याण्डमा रहेका सबैजसो नेपाली नेपालमा केही न केही गर्ने चाहना राख्छन्।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>