समाचारआइतबार, मंसिर २१, २०७१
डेकेन्द्र थापाको हत्यामा संल्ग्नहरुलाई अधिकतम दुई वर्ष कैद
-तुफान न्यौपाने
जिल्ला अदालत दैलेखले २१ मंसीरमा गरेको फैसलामा अभियुक्तहरु निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई —दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको अदालतका तहसिलदार सुनिल खाँडले जानकारी दिए । यी पाँचै जनालाई सस्र्वश्वसहित जन्मकैद माग गरिएको थियो ।
मुद्दाका जम्मा ९ प्रतिवादीमध्ये थिउरी पुराकोट—१ बमबहादुर खड्का र केशव खड्का, कट्टी—७ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर— ३ का भक्तिराम लामिछाने फरार छन् । उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।
पुर्पक्षका क्रममा थुनामा रहेका वीरबहादुर केसी र लक्षिराम घर्तीमगरले उनीहरूलाई तोकिएको कैद भुक्तान गरिसकेकाले फैसलासँगै उनीहरू थुनामुक्त हुनेछन् । दुई वर्षको कैद सजाय तोकिएका निरक घर्ती पनि एक वर्ष सात महिना एक दिन कैदमा बसिसकेका छन् । अब उनी चार महिना २९ दिन कैदमा बसे पुग्नेछ ।
२७ साउन २०६१ मा माओवादीले दैलेख बजारबाट अपहरण गरी पत्रकार डेकेन्द्र थापाको हत्या गरको थिए ।
त्यसबखत विज्ञप्ति प्रकाशित गरी माओवादीले हत्याको जिम्मा लिएको थियो । त्यसको करीब ४ वर्षपछि १२ भदौ २०६५ मा डेकेन्द्रकी पत्नी लक्ष्मीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
लामो समय जाहेरी वेवास्ता गरेको प्रहरीले पुनरावेदन अदालत सुर्खेतको घटनाको तत्काल अनुसन्धान गर्नू भन्ने आदेशपछि २१ पुस २०६९ मा पाँच अभियुक्तलाई पक्राउ गरेको थियो । त्यो बेला द्वारी — १ का लछिराम घर्ती, बालुवाटार—९ का निरकबहादुर घर्ती, बालुवाटार—४ का वीरबहादुर केसी, द्वारी — ३ का हरिलाल पुन मगर र रानिवन—१ का जयबहादुर शाही पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १५ माघ २०६९ मा अदालतमा मुद्दा दर्ता गरेको थियो । १९ माघमा न्यायाधीश रामकृष्ण भट्टको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए ।
उक्त आदेश विरुद्ध प्रतिवादीहरूले पुनरावेदन अदालत सुर्खेतमा १७ नम्बरको निवेदन लिएर गए पनि न्यायाधीशद्वय दीपकराज जोशी र कुमारप्रसाद पोखरेलको इजलासले २० असार २०७० मा जिल्लाकै आदेश सदर गरेको थियो ।
तर दुवै आदेशलाई चुनौती दिँदै सर्वोच्च पुगेपछि सर्वोच्चले २१ साउनमा हरिलाल पुन मगर र जयबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएको थियो ।
