समाचारआइतबार, मंसिर २१, २०७१
दुई सशस्त्र समूहले एसएमजीसहितका हतियार बुझाए
दुई महिनाअघि मात्रै सरकारसँग वार्ता गरेर सार्वजनिक भएका तराई मधेश राष्ट्रिय जनतान्त्रिक पार्टी र करिब ४ बर्ष अगाडि वार्ता गरेका तराई संयुक्त जनक्रान्ति पार्टीका नेताहरुले सप्तरी प्रशासन सामु हतियार बुझाएका छन् ।
तराई मधेश राष्ट्रिय जनतान्त्रिक पार्टीका अध्यक्ष रामबाबु यादव ‘रणबीर सिंह’ ले गोलीगठ्ठासहित ५ थान र तराई संयुक्त जनक्रान्तिका वार्ता समिति संयोजक भुवनेश्वर मण्डलले २ थान हतियार बुझाएका हुन् ।
रणबीर सिंहले एसएमजी एक थान, राईफल तीन थान, कटुवा एक थान, कटुवामा प्रयोग हुने ६ थान गोली, म्यागजिन एक, बाह्र बोरे कार्टिज चार थान, बिष्फोटक पदार्थ र अन्य १५ थान गोली बुझाए ।
यस्तै मण्डलले दुई थान राईफल र त्यसमा प्रयोग हुने १३ थान गोली बुझाए । उनीहरुले सरकारी वार्ता टोलीका संयोजक आनन्द प्रसाद ढुँगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र प्रसाद यादवसमक्ष हतियार बुझाएका हुन् ।
सो अवसरमा बोल्दै सरकारी वार्ता टोली संयोजक ढुँगानाले वार्तामा रहेका सशस्त्र समूहले सरकारलाई हतियार बुझाएपछि समयमा संविधान बन्ने विश्वास व्यक्त गरे । यसले आम जनतामा पनि सकारात्मक सन्देश जाने उनको भनाई थियो ।
श्रवणकुमार देव, सप्तरी

