समाचारमंगलबार, मंसिर २३, २०७१
प्रकृया छोट्याएर संविधानः नेम्वाङ
६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित ‘मानव अधिकार राष्ट्रिय महाभेला’मा नेम्वाङ्ले भने, “अब नियमित प्रक्रियाबाट समयमै संविधान ल्याउन गाह्रो हुन्छ, दलहरूबीच संविधानका विवादित विषयमा सहमति भए प्रक्रिया संशोधन गरी छोट्याएर ८ माघ गतेभित्रै संविधान जारी गर्न सकिन्छ ।”
उनले संविधानसभाको बैठक सुरु भएको र २८ मंसीरबाटसंविधान लेखनका लागि नियमबमोजिमको प्रक्रिया सुरु गरिने बताए ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले २०४७ सालको संविधानका कतिपय विषयमा असहमतिका बाबजुद एमालेले संविधान जारी गर्न सहयोग गरेको स्मरण गराउँदै अब एमाओअवादीले त्यो भूमिका खेल्नुपर्ने सुझाव दिए ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले शान्ति प्रक्रियाको सबै पक्षको सहभागिताबिना बन्ने संविधानले द्वन्द्वको समाधान नगर्ने ठोकुवा गरे । कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ८ माघमै संविधान आउनेमा विश्वस्त रहेको बताए ।
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफुहरुले सहमतिमा जोड दिएपनि ८ माघमा प्रकृयाबाट भएपनि संविधान जारी गर्नुपर्ने बताए ।
