समाचारशुक्रबार, मंसिर २६, २०७१
१९ दलले ३० मंसीरसम्म पर्खिने
एमाओवादीसहितको १९ दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक गठबन्धन नेपाल’ले संविधान निर्माणका विवादित विषयमा सहमतिका लागि ३० मंसीरसम्म पर्खिने निर्णय गरेको छ । सिंहदरबारमा २६ मंसीरमा बसेको गठबन्धनको बैठकले विवादित विषयमा सहमति प्रयासका लागि ३० मंसीरसम्म कांग्रेस–एमालेलाई पर्खिने निर्णय गरेको खम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राईले जानकारी दिए ।
विगतमा विभिन्न समूह तथा आन्दोलनरत पक्षसँग भएका सहमति एवम् अन्तरिम संविधानको ‘स्पिरिट’ अनुसार संविधान निर्माणका लागि सहमति प्रयास गर्ने उनले बताए । उनले भने, “३० मंसीरसम्ममा पनि सहमति जुटेन भने आन्दोलनमा जाने तयारी गर्नेछौं ।”
बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धनको संयोजक चयन गरेको छ । गठबन्धनको अवधारणालाई अन्तिम रुप दिने काम भइरहेको पनि सभासद राईले हिमाललाई बताए ।
कांग्रेस–एमालेसहितका दलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सात प्रदेशसहितको साझा प्रस्ताव अघि सारेपछि संविधानसभामा रहेका एमाओवादीसहितका २० दलले गठबन्धन बनाएका थिए ।
गठबन्धनबाट परिवार दल भने बाहिरिएको सभासद राईले जानकारी दिए ।
