समाचारशुक्रबार, मंसिर २६, २०७१

कांग्रेसले सहमतीय संविधानमा अग्रसरता लिने

हिमालखबर

२६ मंसीरमा सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले ८ माघमै संविधान जारी गर्न पार्टीले अग्रसरता देखाउने निर्णय गरेको हो । सहमहामन्त्री पूर्णबहादुर खड्काले पार्टीले सहमतिमा संविधान निर्माण गर्न आफ्नो अडानबाट पछाडि हट्न सक्ने पनि निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले गरेको निर्णयको पूर्ण विवरणः

मंसिर २६, २०७१

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो देखि जारी बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा आज बस्यो । हिजोदेखि जारी बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., दीपकुमार उपाध्याय, डा. प्रकाशशरण महत, फरमूल्लाह मंसुर, दिनवन्धु श्रेष्ठ, भीष्मराज आङ्दम्वे, जीवनबहादुर शाही, सूर्यमान गुरुङ, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, दीपक गिरी, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, शंकर भण्डारी, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, सीता गुरुङ, पार्वता डी.सी. चौधरी, डिल्लीराज रेग्मी, राजनप्रसाद पन्त, केशवकुमार बुढाथोकी, रामचन्द्र तिवारी, लक्ष्मी राई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, प्रदीप पौडेल, यज्ञराज जोशी र कल्याणकुमार गुरुङले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यसमितिको बैठकले देहायका निर्णय गरेको छ ।

निर्णय:
१.    २०७१ माघ ८ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न पार्टीले अग्रसरता लिने निर्णय गरियो ।

२    क्रियाशील सदस्यता नयाँ प्रदान गर्दा महिला तथा दलित समुदायलाई विशेष प्राथमिकतामा राखी वितरण गर्न निर्देशन दिने ।

३.    नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट मिति २०७१ असार २६ गते गरिएको परिपत्र बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने आवेदन फारमहरु पार्टी केन्द्रीय कार्यालयमा यही २०७१ पौष मसान्तभित्र जिल्लाले बुझाइसक्नु पर्ने गरी पुनः म्याद थप गरिएको छ । केन्द्रबाट भएको परिपत्र बमोजिमको प्रकृया पूरा गरेर मात्र आवेदन फारमहरु जिल्लाले केन्द्रमा बुझाउनु पर्नेछ । अन्यथा मान्यता हुने छैन । क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण सम्बन्धी कार्यको अनुगमन गर्न केन्द्रीय सदस्यहरुलाई जिल्लामा पठाइनेछ ।

४.    नेपाल सरकारबाट नवगठित नगरपालिकाहरुमा निम्नप्रकार गर्न निर्देशन दिने—

(क)    क्रियाशील सदस्यता सम्बन्धमा:  नयाँ नगरपालिका भित्र परेका पहिलेका नगरपालिका तथा गा.वि.स.मा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण कार्यमा प्रस्ताव गरी क्षेत्रीय कार्यसमितिमा बुझाउनु पर्ने कार्य पहिलेकै गाउँ कार्यसमिति तथा नगर कार्यसमितिहरुले आ–आफ्नो पहिलेको क्षेत्रभित्र रही गर्नु पर्नेछ ।

(ख)    तत्कालको संगठन परिचालन सम्बन्धमा:

(१)    एकै निर्वाचन क्षेत्रका नगरपालिका तथा गा.वि.स.हरु मिलाएर नयाँ नगरपालिका गठन भएको भए पहिलेको नगर कार्यसमिति, गाउँ कार्यसमितिहरुका पदाधिकारीहरुलाई समावेश गरी क्षेत्रीय सभापतिको संयोजकत्वमा नगर समन्वय समिति गठन गर्ने र नगर भित्र पार्टी नगर समितिले गर्नु पर्ने कार्य गर्ने । तर क्रियाशील सदस्यता सम्बन्धमा माथि ४(क) मा उल्लेख भए बमोजिम पहिलेकै नगर तथा गाउँ कार्यसमितिले गर्नु पर्नेछ ।

(२)    दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्रका नगरपालिका तथा गा.वि.स.हरु मिलेर नयाँ नगरपालिका बनेका भए जिल्ला कार्यसमितिका सभापतिले सम्बन्धित क्षेत्रका सभापतिहरु एवं पहिलेको नगर कार्यसमिति, गाउँ कार्यसमितिहरुका पदाधिकारीहरुलाई समावेश गरी क्षेत्रीय सभापतिको संयोजकत्वमा आलोपालो हुने गरी नगर समन्वय समिति गठन गर्ने र नगर भित्र पार्टी नगर समितिले गर्नु पर्ने कार्य गर्ने । तर क्रियाशील सदस्यता सम्बन्धमा माथि ४(क) मा उल्लेख भए बमोजिम पहिलेकै नगर तथा गाउँ कार्यसमितिले गर्नु पर्नेछ ।

(३)    पार्टी तथा भ्रातृ संस्थाहरुको आगामी अधिवेशन नयाँ नगरपालिकालाई आधार मानी गर्नुपर्नेछ ।

(५)    केन्द्रीय अनुशासन समितिले गरेका निर्णय उपर परेका पुनरावेदनका सम्बन्धमा आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुनेछ । बैठक यथाशीघ्र बोलाइनेछ ।

(६)    तेह्रथुम जिल्लामा केन्द्रले पठाए बाहेक छुट्टै क्रियाशील सदस्य कार्डहरु बनाई वितरण गरेको सम्बन्धमा छानविन गरी आवश्यक कार्यवाही गरिनेछ । यसरी छुट्टै क्रियाशील सदस्य कार्ड बनाई वितरण गर्ने अधिकार केन्द्र बाहेक कसैमा रहेको छैन ।

(७)    केही समयदेखि यता देशका विभिन्न ठाउँमा यातायातका सवारी साधनहरु (बस, ट्रक, जीप, कार, ट्याक्टर, मोटरसाइकल आदि) दुर्घटनामा परी ठूलो जनधनको क्षति भैरहेको अत्यन्त दुःखद समाचार आइरहेका छन् । के कति कारणले सवारी साधनहरु यसरी दुर्घटना भैरहेका छन् र यस्ता दुर्घटना हुन नदिन के कस्तो कानूनी एवं व्यवहारिक उपायहरु अवलम्वन गर्न आवश्यक छ, समग्रमा अध्ययन अवलम्वन गरी ठोस नीति ल्याउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरियो ।

समवेदना

१.    नेपाली कांग्रेसका तर्फबाट बाग्लुङ क्षेत्र नं. १ बाट निर्वाचित संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाग्लुङ जिल्ला कार्यसमितिका सचिव हरिबहादुर खड्काको मंसिर १७ गते बुधबार धार्मिक कार्यक्रममा सहभागी हुन जादा जीप दुर्घटनामा परी गम्भीर घाइते हुनु भई काठमाडौँ स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गत मंसिर २१ गते निधन भएको थियो । उहाँको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

२.    नेपाली कांग्रेस बाँकेका नेता एवं जिल्ला सभापति ७३ वर्षीय डा. अरूण कोइरालाको गत २०७१ मंसिर २ गते भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा भएको असामयिक निधनप्रति कर्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । उहाँको निधनबाट नेपाली कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा अपूरणीय क्षति पुग्न गएको छ । स्वर्गीय कोइरालाले पार्टी संगठन तथा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा पु-याउनु भएको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवारप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

३.    त्यसैगरी स्वतन्त्र सेनानी १०१ वर्षीय सर्वज्ञमान प्रधानाङ्ग र नेपाल दलित संघको केन्द्रीय सदस्य गीता सुनवारको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

ऋषिकेश तिवारी
मुख्य सचिव

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>