समाचारआइतबार, मंसिर २८, २०७१
‘अलकायदा’बारे सूचना फर्जी भएको पुष्टी
इस्लामिक आतंककारी संगठन ‘अलकायदा’ले काठमाडौंमा बिष्फोट गराउने योजना बनाएको भन्दै सूचना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई गलत सूचना दिने काठमाडौंको हाडीगाउँमा बस्दै आएका दमक–१३ झापाका ३६ वर्षीय रोशन भारतीलाई पक्राउ गरेको हो ।
अरुको इमेल ठेगाना ह्याक गरेर उनी आफैले इमेल पठाएर फर्जी सूचना दिएको प्रहरीले पुष्टी गरेको छ । फर्जी सूचना पठाएर सर्वसाधारणमा भ्रम तथा सन्त्रास फैलाउने उदेश्यले इमेल ठेगाना ह्याक गरेको ठहर गरेको प्रहरीको भनाइ छ ।
उनलाई साइबर अपराधअन्तर्गत कारबाही अघि बढाइने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले बताए ।
भारतीले अर्काको इमेल ह्याक गरेर अलकायदाले काठमाडौंको पशुपतिनाथमा बिष्फोट गराउन लागेको भन्दै ९ मंसीरमा फर्जी सूचना प्रहरीलाई दिएका थिए । उनकै सूचनाको आधारमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ५ पाकिस्तानीसहित २० जनालाई पक्राउ गरेको थियो ।
भारतीको सूचना फर्जी भएको पुष्टी भएसँगै पक्राउ परेकाहरु छुटेको प्रहरीले जनाएको छ ।
