समाचारसोमबार, मंसिर २९, २०७१

एसएमएसबाटै मुद्दाको जानकारी

हिमालखबर

-तुफान न्यौपाने

आफूलाई पायक पर्ने अदालतबाटै सर्वोच्चको तारेख लिन पाउने र म्याद तामेली पनि अनलाइनबाट हुने व्यवस्था भएपछि यति कामका लागि दूरदराजबाट राजधानी धाउनुपर्ने झन्झट सकिएको छ ।

न्यायिक कार्यलाई छिटोछरितो, सहज र प्रभावकारी बनाउन मुद्दा व्यवस्थापनमा सूचनाप्रविधिको प्रयोग शुरू गरिएको सर्वोच्चको सूचनाप्रविधि शाखाका उप—सचिव चाणकमणि अर्याल बताउँछन् । अदालतले एसएमएस सेवा अन्तर्गत पक्षहरूलाई मुद्दा/रिट/निवेदन दर्ता, पेसी मिति, मुद्दाको स्थिति, साधारण तारेख र पेसीमा भएको आदेश तथा फैसलाबारेको जानकारी दिन्छ ।

मुद्दा तथा रिट महाशाखामा मुद्दाका पक्षले मोबाइल नम्बर दर्ता गराएमा यी सबै जानकारी स्वतः पुग्ने व्यवस्था गरेको सर्वोच्चले सेवाग्राहीले एसएमएसबाट मागेको विवरण एसएमएसबाटै जवाफ दिने व्यवस्था समेत मिलाएको छ । उप—सचिव अर्याल मुद्दा/रिट तथा निवेदन दर्ता मिति र नम्बर पाउन मोबाइलको ‘म्यासेज बक्स’ मा ‘आरजी’ लेखेर स्पेस दिई मुद्दा नम्बर टाइप गरेर ३०३०३ मा पठाएपछि त्यसको जवाफ पाउने व्यवस्था गरिएको बताउँछन् । त्यस्तै पेसी मितिबारे थाहा पाउन ‘एचडी’ र मुद्दाको स्थितिबारे बुझन ‘एचटी’ लेखी स्पेस दिएर मुद्दा नम्बर टाइप गरी पठाउनुपर्छ ।

न्यायपालिकाको पहिलो पञ्चवर्षीय रणनीतिक योजनामा ‘न्यायपालिकाका हरेक गतिविधिका लागि कम्प्युटर प्रणाली अवलम्बन गर्नुपर्ने’ भनिएको थियो भने दोस्रो योजनाले ‘सूचना र सञ्चारप्रविधिको प्रयोगलाई संस्थागत गर्ने’ रणनीति लिएको थियो । सर्वोच्चले आफूलाई पायक पर्ने अदालतमा गएर तारेख लिन पाउने व्यवस्था पनि गरेको छ । सर्वोच्चको म्याद तामेली हालसम्म हुलाकबाट सूचना पठाएर हुँदै आएकोमा त्यसलाई पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाइएको छ ।

रामकुमारप्रसाद साह सर्वोच्चको सूचनाप्रविधि समितिका अध्यक्ष हुँदाको यो अवधारणा उनी प्रधानन्यायाधीश भएपछि लागू भएको हो । पहिलो चरणमा मुद्दाको चाप बढी भएका ९ पुनरावेदन र ३१ जिल्ला अदालतमा लागू भएको यो कार्यक्रम दोस्रो चरणमा सबै अदालतमा विस्तार गरिनेछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>