समाचारबुधबार, पौष २, २०७१
पानीबाट सर्ने नयाँ रोगका दुई बिरामी फेला
नेपालमा पहिलोपटक पानीबाट सर्ने नयाँ रोग फेला परेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पानीबाट सर्ने रोग ‘लिगिनार्यस डिजिज’ का दुई जना बिरामी फेला परेको जनाएको छ ।
विदेश बसेर नेपाल आएका व्यक्तिबाट रोग सरेको हुनसक्ने महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जानकारी दिए । उनले उक्त रोग नेपालमा कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको बताए ।
रोगका बारेमा थाहा पाउनका लागि पानी परीक्षण गर्नुपर्ने र परीक्षणका लागि पानी विदेश पठाउनुपर्ने भएकाले त्यसको रिपोर्ट आउन करिब एक महीना लाग्छ ।
पहिलोपटक यस्तो रोग देखिएपछि महाशाखाले काठमाडौंका विभिन्न अस्पतालमा सुरक्षा सतर्कता अपनाउन छलफल गर्ने तयारी गरेको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, पखाला लाग्नु ‘लिगिनार्यस डिजिज’ रोगका लक्षण हुन् ।
यो रोगका किटाणु पानीको थोपाबाट श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्ने चिकित्सकको भनाइ छ । समयमा रोगको उपचार नगरे कडा निमोनिया हुने निर्देशक मरासिनीले बताए ।
रोगबाट बच्न पानी उमालेर मात्र पिउने र अरु प्रयोजनका लागि पनि पानी उमाल्नु पर्ने चिकित्सकको सुझाव छ । एयर कन्डिसनर, पानीका फोका, नुहाउन प्रयोग हुने सावर, पौडी पोखरी, अस्पतालमा बाफ लिन प्रयोग हुने मेसिन आदिबाट रोगका किटाणु सर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
रासस
