समाचारबिहीबार, पौष ३, २०७१
यातायातको भाडा पनि घट्छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायातको भाडा पनि स्वतः घट्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ३ पुस बिहान प्रमुख ११ विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै उनले भने, “पेट्रोलियम पदार्थको भाउ घट्ने, तर यातायातको भाडा नघट्ने हुनै सक्दैन ।”
उनले यातायात भाडा घटाउने विषय मन्त्रिपरिषदमा छलफल गराएर टुंगोमा पुग्ने बताएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनले महंगी नियन्त्रणका लागि पहल गर्ने पनि विश्वास दिलाए ।
“पेट्रोलियम पदार्थको मूल्य घटाउन विभागीय मन्त्रीलाई निर्देशन दिइसकेको छु,” प्रधानमन्त्रीले भने, “भाउ घट्नेमा ढुक्क हुनुहोस् ।”
उनले ८ माघमै संविधान जारी हुने पनि बताए । समयमै संविधान जारी गर्न विद्यार्थी संगठनले गरिरहेको दबाब सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीले ८ माघमै संविधान जारी गर्न दलहरुबीच तीब्र छलफल भइरहेको बताए ।
विद्यार्थी संगठनले ३ पुसमा पेट्रोलियम पदार्थको मूल्य समायोजन, यातायातको भाडा घट्नुपर्ने, समयमै संविधान जारी हुनुपर्ने लगायतका बुँदासहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको हो ।

