समाचारबिहीबार, पौष ३, २०७१
पोखरामा स्थानीय र प्रहरीबीच झडप
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराले जग्गाको उचित मुआब्जा दिनुपर्ने भन्दै १४, १५, र १८ नम्बर वडाका बासिन्दाले औद्योगिक क्षेत्रस्थित मुख्य गेटमा तालबन्दी गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडपमा ५ जना आन्दोलनकारी र ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते हुनेमा पोखरा १४ का ५२ वर्षीय विष्णु खत्री, ३६ वर्षीय मिना गुरुङ, ६५ वर्षीय बलराम कुँवर, पोखरा १५ का ६४ वर्षीय गंगाप्रसाद श्रेष्ठ, पोखरा १८ का ६१ वर्षीय बासुदेव बानिया छन् । त्यसैगरी प्रहरीतर्फ वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण रानाभाट, प्रहरी जवान मनबहादुर दरइ र महिला प्रहरी जवान सम्झना ढकाल घाइते भएका छन् ।
घाइतेहरुको माणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयले विमानस्थल भित्र रहेको कार्यालयमा कार्यरत कर्मचारीलाई समेत थुन्ने प्रयास गरेका थिए ।
“सरकारले गरेको निर्णयलाई हामीले केही गर्न सक्दौंनौ, हामीलाई थुनेर के नै हुन्छ र ?” एक कर्मचारीले गुनासो गरे ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले केही बेर पृथ्वीराज मार्गको औद्योगिक चाउथे सडक खण्ड अवरुद्ध पारेका थिए ।
विमानस्थल निर्माणको लागि आवश्यक थप जग्गा अधिग्रहण गर्दा सरकारले पीच बाटो भएको जग्गालाइ प्रतिरोपनी ४२ लाख, कच्चीबाटो भएकोलाई २९ लाख र बाटोको निकास नभएको जग्गालाइ २० लाख प्रतिरोपानी तोकेको छ ।
तर, स्थानीयबासीले भने अहिलेको बजार मुल्यको आधारमा मुआब्जा पाउनुपर्ने भन्दै गत मंसीर अन्तिम सातादेखि आन्दोलन गरिरहेका छन् ।
माधव बराल, पोखरा
