समाचारबिहीबार, पौष ३, २०७१
एकै व्यक्तिको शव दुई ठाउँमा फेला परेपछि
श्रवणकुमार देव, राजविराज
सप्तरीको काचन–४ की एक महिलाको शव दुई भिन्न स्थान र समयमा फेला परेको छ । काचनकी पार्वतीदेवी दास २९ मंसीर राति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीले अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको थियो तर, उनको शव २ पुस साँझ मानराजा गाविसको खड्ग खोला किनारबाट फेरि वरामद भयो ।
भएको के रहेछ भने, पोष्टमार्टम गरिएपछि पार्वतीदेवीको शव बुझेका पति रमाकान्तले बोरामा बाँधिएकै अवस्थामा शवलाई खडग नदी छेउमा फालिदिएछन्– अन्तिम संस्कार नगरेरै ।
२ पुस साँझ खोला छेउ पुगेका स्थानीयहरुले बोरामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट पुगेको प्रहरी टोलीले शव भेटिएपछि अनुसन्धान गर्दा उक्त शव पार्वतीकै रहेको पुष्टि भयो । एक दिनअघि परिवारलाई बुझाएको शव कसरी खोला किनारमा पुगेछ भनेर अचम्ममा परेको प्रहरीले सोधखोज गरेपछि त्यसबारे मेसो मायो ।
“बुझ्दै जाँदा पतिले शव फालेको पत्ता लाग्यो,” सप्तरीका प्रहरी प्रमुख एसपी दानसिंह बोहराले भने, ‘‘यसपछि स्थानीय तथा प्रहरी मिलेर शवलाई खाल्डो खनेर गाडिएको छ ।’’
स्थानीयका अनुसार दिनहुँ रक्सी खाएर सताउने रमाकान्तको बानीदेखि दिक्क परेकी पार्वतीले आत्महत्या गरेकी थिइन् । आर्थिक अवस्था कमजोर रहेका दास दम्पतिका तीन छोरी र एक छोरामध्ये दुई छोरीको विवाह भए पनि एक छोरी र छोरालाई खाना लाउन समेत नपुग्दो थियो ।
“तर रमाकान्तले रक्सी सेवन गर्न छाड्ेनन् न त कुटपिट गरेर पत्नीलाई दुख दिन नै छाडे ।” ऊ कुन हदसम्म जँड्याहा र गैरजिम्मेदार हो भन्ने त पत्नीको शवको अन्तिम संस्कार नगरी फालेबाटै थाहा हुन्छ,” स्थानीय सचिदानन्द चौधरीले भने ।
