समाचारबिहीबार, पौष ३, २०७१
सभासदहरुकाे गुनासाे, ‘हामीलाई भरिया बनाइयो’
सभासदहरुले संविधानसभामा आफ्नै शीर्ष नेताहरुले भरिया बनाएको गुनासो गरेका छन् ।
संविधानसभाको ३ पुसमा बसेको बैठकमा सभासदहरुले नेताहरु सत्ताको खेलमा लागेकाले संविधान बन्न नसकेको आरोप लगाएका हुन् ।
कांग्रेसका सभासद वीरेन्द्रप्रसाद महतोले भने, ‘‘सभासद्हरुलाई भरिया बनाइयो, कसलाई के पद चाहिएको हो, त्यो प्रष्ट भन्दा हुन्छ । तर, संविधान निर्माण कार्य रोक्नु भएन ।’’
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सभासद् आशा चतुर्वेदीले सहमतिमा नै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै सबैले स्वीकार गर्ने र अपनत्व गर्ने खालको मूल कानुनको जरुरत रहेको बताए ।
राप्रपाका सभासद् राज्यलक्ष्मी श्रेष्ठले सहमति नभएको खण्डमा प्रक्रियामा गएर भए पनि जनताका सामु गरेको प्रतिबद्धताअनुसार संविधान जारी गर्नुपर्ने र पुनः सहमतिको नाममा संवाद समितिमा पठाउन नहुने बताए ।
मधेसी जनअधिकार फोरम नेपालका सभासद् अकवाल अहमद साहले आदिवासी, जनजाति, मधेसी, अल्पसङ्ख्यक जनतालाई अधिकार सम्पन्न गराउने गरी सहमतिै सबैले अपनत्व गर्ने संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
तराई मधेस सद्भावना पार्टीका सभासद् महेन्द्रराय यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सभासद् धर्मेन्द्रकुमार साह तेलीले प्रमुख दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिको आधारमै संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताए ।
कांग्रेसका मानबहादुर विक र रामकृष्ण यादवले सहमतिको नाममा मुलुक अप्ठ्यारोमा परेको बताए । यस्तै, एमालेका सभासद् सिद्धिलाल सिंह र मानप्रसाद खत्रीले संविधान निर्माण प्रक्रिया सहज नभएको भए पनि कोही कसैले धम्की दिँदैमा नरोकिने भएकाले विधि र प्रक्रियालाई मान्न दलहरुलाई आग्रह गरे ।
