समाचारबिहीबार, पौष ३, २०७१
थप आन्दोलनको औचित्य छैनः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धी प्राप्त भइसकेकाले अव थप आन्दोलनको औचित्य नभएको बताएका छन् ।
संविधान निर्माणमा दवाव दिन मेची–महाकाली अभियान अन्तर्गत ११ विद्यार्थी संगठनको ज्ञापनपत्र वुझ्दै प्रधानमन्त्री कोइरालाले अहिलेको उपलब्धी संस्थागत नगरी थप आन्दोलन आवश्यक नभएको बताए । उनले भने, ” अब बन्ने संविधानमा सबै जातजाति, जनजाति, दलित, मुस्लिम, पिछडिएका, अल्पसङ्ख्यक समुदाय, विभिन्न भाषा, धर्म, संस्कृति मान्ने नेपालीको अधिकार संरक्षित हुने भएकाले थप अान्दाेलन जरुरी पर्दैन ।”
उनले शान्ति, स्थायित्व, लोकतन्त्रको संस्थागत विकास र आर्थिक–सामाजिक विकासका लागि यो अन्तिम अवसर भएको बताए ।
उनले भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका निर्माणकर्तासँग भएका परियोजना विकास सम्झौताले नेपालमा लगानीको वातावरण बन्दै गएको सन्देश दिएको बताए ।
