समाचारबिहीबार, पौष ३, २०७१
सेभेन समिट महिला टोलीलाई रु.५० लाख
विश्वका ६ महादेशका अग्ला शिखर आरोहण गरिसकेको नेपाली महिलाको सात सदस्यीय टोलीलाई सरकारले रु.५० लाख दिने भएको छ । ३ पुसमा बसेको मन्त्रिपरिषद बैठकले अन्टार्टिकाको माउन्ट भिन्सन मस्सिफ चढ्ने तयारी गरेको उक्त टोलीलाई रु.५० लाख दिने निर्णय गरेको हो ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले टोलीको एक जनालाई लाग्ने खर्च बराबरको रकम दिने निर्णय भएको जानकारी दिए । टोलीले एक जनालाई लाग्ने खर्च बराबरको रकम मात्र सरकारसँग माग गरेको थियो ।
पूजना आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठको आरोहण टोली यसै साता अन्टार्टिकाको माउन्ट भिन्सन मस्सिफ जाँदैछ । उक्त हिमाल आरोहणपछि सातै महादेशका अग्ला चुचुरामा पाइला टेक्ने विश्वकै पहिलो महिला टोली बन्नेछ ।
यो समावेशी टोलीले २००८ मा सगरमाथा, २०१० मा अष्ट्रेलियको कोसिअस्को र रुसको एलब्रस, २०१३ मा तान्जानियाको किलिमञ्जरो, २०१४ मा दक्षिण अमेरिकाको अकोन्कागुआ र अलस्काको डिनाली आरोहण गरेको थियो ।
सगरमाथा आरोहणका क्रममा भेट भएपछि सात महादेशका सात चुचुरा चढ्ने योजना बनाएका टोलीकी सदस्य शैली बस्नेत भन्छिन, “सगरमाथा चढेपछि हाम्रो आफ्नै सपना पूरा गर्न र अरुलाई पनि प्रेरणा होस् भनेर ‘सेभेन समिट’ योजना बनायौं ।”
