समाचारआइतबार, पौष ६, २०७१
संविधानसभामा दलगत अडान कायमै
संविधानसभामा सभासदहरुले आफ्नै दलको अडान अनुसार धारणा राखिरहेका छन् ।
समितिका सभापति बाबुराम भट्टराईले गत २४ मंसीरमा प्रस्तुत गरेको समितिको चौथो प्रतिवेदनमा २९ मंसीरदेखि लगातार छलफल भइरहेको छ । छलफलमा कांग्रेस र नेकपा एमालेलगायतका दलले सहमति भए सहमति बमोजिम र सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिँदै आएका छन् भने प्रतिपक्षका रुपमा रहेका एमाओवादीलगायतका दलले सहमति नगरी प्रक्रियामा गएर संविधान जारी गर्न नहुनेमा जोड दिँदै प्रक्रियामा गए आफूहरूले स्वीकार नगर्ने बताउँदै छन् ।
६ पुसको बैठकमा कांग्रेसका रमेश लेखकले एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता बमोजिम ८ माघमा संविधान जारी गर्न ३२ दिन बाँकी हुँदा पनि टुङ्गोमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय समुदाय यहाँको गतिविधिप्रति आश्वस्त हुन छाडेका बताए ।
एमालेका गोकर्ण विष्टले संवादहीनताले समस्याको समाधान नहुने भएकाले जिम्मेवारपूर्ण भएर संवाद अघि बढाउन आग्रह गर्दै राम्ररी प्रयत्न गरेमा सहमतिमा पुग्न सकिने बताए ।
एमाओवादीका शक्तिबहादुर बस्नेतले संंविधानसभामा दुई शक्ति मोर्चाका रूपमा प्रस्तुत हुनुभन्दा सहमतिको संविधान जारी गर्न ध्यान जानुपर्ने बताए ।
