समाचारआइतबार, पौष ६, २०७१
अधिकारी हत्याका आरोपी धरौटीमा रिहा
–सविता श्रेष्ठ, चितवन
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारी धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेका उनलाई चितवन जिल्ला अदालतले रु.२७ हजार धरौटीमा छाडेका हुन् ।
चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले ६ पुसमा उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । चितवन प्रहरीले ५ पुस साँझ काठमाडौंको बालाजुबाट पक्राउ गरी उनलाई ६ पुसमा जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।
काठमाडौंमा पक्राउ परेलगत्तै उनलाई ५ पुस राति नै प्रहरीले चितवन ल्याएको थियो । उनीमाथि गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न रहेको आरोप छ ।
एसएलसी परीक्षा दिएर २४ जेठ २०६१ मा चितवनमा रहेका हजुरबा भेट्न पुगेका कृष्णप्रसादलाई तत्कालीन नेकपा माओवादीले अपहरण गरी हत्या गरेका थिए ।
पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा यसअघि पनि पक्राउ परेका रामप्रसाद अधिकारी तारिखमा रिहा भएका थिए । तर, उनी फरार रहेकाले पक्राउ गरिएको एसपी थापाले बताए ।
अधिकारीविरुद्ध जिल्ला अदालत चितवनमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । उनीसँगै ११ जना विरुद्ध हत्या गरिएका कृष्णप्रसादका परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका थिए ।
छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै अनशनमा बसेका बाबु नन्दप्रसादको अनशनकै क्रममा निधन भएको थियो ।
