समाचारबुधबार, पौष ९, २०७१
ओली राजा बन्न खोजेः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको आरोप लगाएका छन् ।
उनले ९ पुसमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले नयाँ राजाको ठाउँ लिन खोजेको बताए । दाहालले भने, ‘‘राजा गएर के भो हामी छौं भन्ने जस्तो कुरा हुन थाल्यो ।’’
एमाओवादीसहितको मोर्चाले तय गरेको आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ । मोर्चाले जिल्लादेखि केन्द्रसम्म चरणबद्ध सभा, जुलुस र आम हड्तालको कार्यक्रम तय गरेको संघीय समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले बताए ।
मोर्चाले १९ पुसमा देशका सवै जिल्लामा जुलुस र सभा, २५ देखि २९ पुस प्रदेश स्तरीय (२५ पुसमा खसान, खप्तड, भेरी–कर्णाली र सेती महाकाली, २७ पुसमा किराँत, खम्बुवान, लिम्बुवान, मगरात र तमुवान, २८ पुसमा थरुहट र मधेश, २९ पुसमा नेवाः र तामसालिङ) आम हड्ताल र ३ माघमा नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ ।
