समाचारबुधबार, पौष ९, २०७१
नेपालीकै संलग्नतामा बैंककमा नेपाली विद्यार्थी अपहरित
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिककै संलग्नतामा थाइल्याण्डको बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थीको अपहरण भएको जनाएको छ । राजधानीमा ९ पुसमा सीआईबीले पत्रकार सम्मेलन गरेर विद्यार्थी अपहरण घटनामा नेपाली नागरिकको पनि संलग्नता रहेको जनाएको हो ।
प्रहरीका अनुसार सर्लाही छतौना गाविस–९ का ३० वर्षीय सुजन यादव भनिने श्रीचन रायको संलग्नतामा अपहरण गरिएको हो । उनीसँगै अहरणमा संलग्न थाइल्याण्डका २२ वर्षीय उकास रहमान र पाकिस्तानीमूलका ४६ वर्षीय मोहमद जलिर पक्राउ परिसकेको सीआईबीले जनाएको छ ।
उनीहरुलाई ८ पुसमा थाइल्याण्डमा पक्राउ गरिएको हो । अपहरण घटना थाहा हुने बित्तिक्कै सीआईबीको टोली थाइल्याण्ड पुगेको थियो ।
सीआईबी र थाइल्याण्ड प्रहरीको संयुक्त टोलीले ८ पुसमा अपहरणमा परेका तीन नेपाली विद्यार्थीलाई सकुशल उद्दार गरेको थियो । बैंककस्थित एजम्प्सन युनिभर्सिटी अफ थाइल्याण्डमा अध्ययनरत रोशन श्रेष्ठ, कर्ण हाछेथु र विभुष रिजाल ५ पुसमा अपहरणमा परेका थिए ।
