समाचारबिहीबार, पौष १०, २०७१
चिनियाँ विदेशमन्त्री वाङ नेपालमा
चीनका विदेशमन्त्री वाङ यी आज (१० पुसमा) सात सदस्यीय टोलीसहित नेपालको औपचारिक भ्रमणमा आएका छन् ।
वाङको तीन दिने नेपाल भ्रमणका क्रममा कुनै नयाँ सम्झौता हुने कार्यक्रम तय नभए पनि उनले देखाउने चासो अनुसार नेपालले प्रथामिकता तय गर्ने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताएका छन् ।
सदभावना भनिएको वाङको भ्रमण चिनियाँ राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमणको पूर्व तयारीका लागि भएको बुझिएको छ ।
मन्त्री पाण्डेका अनुसार वाङले आफ्नो भ्रमणका क्रममा चीन सरकारको सहयोग र लगानीमा भैरहेका कामहरुको जानकारी लिने छन्।
उनले नेपालमा उर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, व्यापार जस्ता क्षेत्रमा पनि छलफल हुनसक्ने बताए ।
मन्त्री वाङले सशस्त्र प्रहरी प्रतिष्ठान निर्माणका लागि सहयोग गर्ने र सीभील अस्पताललाई उपकरण हस्तातरण कार्यक्रम रहेको बताइएको छ।
चीनसँग प्रक्रियामा रहेको लगानी प्रवर्धन तथा सुरक्षाबारेको विप्पा सम्झौताका बारेमा दुईपक्षका बीचमा छलफल भए पनि यही भ्रमणका क्रममा भने सो सम्झौता हुने सम्भावना नरहेको पाण्डेले बताए ।
वाङले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गर्ने कार्यक्रम छ।
वाङको यो भ्रमण कोइराला प्रधानमन्त्री भएयताको चीनबाट हुनलागेको उच्चस्तरको पहिलो भ्रमण हो।
