समाचारबिहीबार, पौष १०, २०७१
एक हप्ताभित्र सहमति हुन्छःनेता नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच एक हप्ताभित्र संविधानका विवादित विषयमा सहमति हुने बताएका छन् । पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको १० पुसमा पोखरामा उद्घाटन गर्दै नेता नेपालले सबैलाई मिल्ने गरी सहमतिको बिन्दु पहिल्याएर सहमति गरिने दाबी गरेका हुन ।
नेपाली कांग्रेस र नेकपा एमाले दुई तिहाईको दम्भ देखाएर अरु दललाई आक्रोशित गराउने पक्षमा छैनन् भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै दल ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने हठ त्यागेर सहमतिको विन्दुमा आउनुपर्नेमा जोड दिए ।
तोकिएको मिति ८ माघमा नै नयाँ संविधान जारी गरी देशलाई समाधान दिनुपर्ने बताउँदै उनले मिल्न सक्ने कुरामा सहमति गर्नुपर्ने र नमिल्ने कुरालाई फरक मत राखेर भए पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरेका थिए ।
