समाचारशुक्रबार, पौष ११, २०७१
किन सहमति नभएको हो, थाहा छैनः सभाध्यक्ष नेम्वाङ
संविधानका विवादित विषयमा सहमति कायम गर्न दलहरुले नसकेको भन्दा पनि नचाहेको जस्तो देखिएको उनले बताए ।
लोकतन्त्र र शान्तिका लागि पेसागत सञ्जाल (पापड)ले बुझाएको आठबुँदे ज्ञापनपत्र लिंदै अध्यक्ष नेम्बाङले भने, “विवादित विषयमा दुई घन्टामा सहमति गर्न सकिन्छ भनेर विश्वास दिलाएका राजनीतिक दलले किन सहमति जुटाउन नसकेका हुन् र केले रोकेको हो मलाई पनि थाहा छैन ।”
“जनताका सामु गरेको प्रतिबद्धता र मुलुकको आवश्यकतालाई ख्याल गरेर विवादित विषयमा तत्काल सहमति जुटाउनु आवश्यक छ,” उनले भने, “अब पनि ढिला गर्ने समय दलहरुलाई छैन ।”
दलहरुले दुई घन्टामा सहमति गर्छौं भनेको लामो समय भइसक्यो, तर त्यो दुई घन्टा कहिले आउँछ भनेर जनताले ्र प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले कुन आधारमा कसरी सहमति गर्ने हो त्यसको जानकारी दिन पनि दलहरुलाई आग्रह गरे ।
पापडका संयोजक अञ्जनीकुमार झाले आगामी ८ माघमा संविधान जारी गर्ने वातावरण बनाउन माग गर्दै आठबुँदे ज्ञापनपत्र बुझाएका थिए ।
