समाचारशुक्रबार, पौष ११, २०७१

चीनद्वारा नेपाललाई ८ सय मिलियन युआन सहयोगको घोषणा

हिमालखबर

चीन सरकारले नेपाललाई ८ सय मिलियन चिनियाँ युआन सहयोग गर्ने भएको छ।

Chinese-Foreign-Ministerनेपाल र चीनबीच ११ पुसमा भएको परराष्ट्र मन्त्रीस्तरीय वार्तामा चीनले यसअघि दिँदै आएको आर्थिक सहयोगमा बृद्धि गरी ८ सय मिलियन चिनियाँ युआन (करिब १३ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

११ पुसमा काठमाडौंको सोल्टी होटलमा भएको वार्तामा चीन सरकारले नेपाललाई पूर्वाधार, कृषि, पर्यटन, उर्जा, सुरक्षा लगायत नौ विषयमा सहयोग गर्न तयार रहेको जनाएको छ। त्यस्तै चीनले नेपालको सुरक्षाविषयमा पनि चासो व्यक्त गरेको छ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र चिनियाँ विदेशमन्त्री वाङ यी सहितको प्रतिनिधिमण्डल सहभागी थियो।

वाङ यीले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धवारे चीनको कुनै गुनासो नरहने भन्दै नेपाल–भारत सम्बन्ध अझै राम्रो हुनुपर्ने बताए ।

नेपाल–चीन मन्त्रीस्तरीय वार्तापछि आयोजित संयूक्त पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री वाङ्ले सन् २०१५ मा चीनले नेपालमा सहयोग गर्नेवारेमा ठोस कार्ययोजना समेत तयार पार्ने जानकारी दिए ।

आगामी वर्ष नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६० औं वर्ष पूरा हुने भन्दै उनले नेपाल दक्षिण एशियाकै विकासका लागि सेतु बन्ने पनि दाबी गरे ।

वाङ्ले भने, “नेपाल, भारत र चीनवीच त्रिपक्षीय सम्बन्ध समेत अघि बढाउनुपर्छ ।”

बैठकमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गरेका थिए भने १३ सदस्यीय चिनियाँ पक्षको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेले बैठकमा द्विपक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रियलगायतका सबै विषयमा छलफल भएको जानकारी दिए ।
उनले नेपाललाई सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने कार्यमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

मन्त्री पाण्डेले बैठकमा ‘सिल्क रोड इकोनोमिक बेल्ट’का साथै एशियाली भौतिक पूर्वाधार निर्माण विकास बैंकको स्थापनाबारे पनि छलफल भएको जानकारी दिए ।

वाङले आजै राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायतलाई भेट्दै छन् ।

छलफलमा सन् २०१५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्न लागेकोमा अहिलेसम्मका सन्धि र सम्झौता पुनरावलोकन गर्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन दुवै पक्ष सहमत भएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>