समाचारशनिबार, पौष १२, २०७१
प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच छलफल
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान निर्माणका विवादित विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा १२ पुस बिहान भएको भेटमा संविधान निर्माणमा देखिएका मुख्य विवादित विषयको सहमतिका साथ कसरी टुङ्गो लगाउन सकिन्छ भन्नेबारे दुई नेताबीच कुराकानी भएको हो ।
संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक बालुवाटारमै बसिरहेका बेला दुई दलका शीर्ष नेताहरूबीच वार्ता भएको हो ।
कार्यदलले संविधानका विवादित विषयलाई धेरै हदसम्म मत्थर पार्ने र सहमतिको वातावरण बनाउन मद्दत गर्ने प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष दाहालले आजै बिहान पापडसँगको भेटमा बताएकाले पनि सहमतिको सकारात्मक सङ्केत देखिएको छ ।
कार्यदलको कामलाई सार्थक र प्रभावकारी बनाउन दुवै पार्टीका नेताहरूले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।
पछिल्लो समय संविधानका विवादित विषयको किनारा लगाएर निर्धारित समयमै संविधान जारी गर्नका लागि दलीय विश्वासको वातावरण बनाउनेतर्फ प्रधानमन्त्री कोइरालाको सक्रियता बढेको छ ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका क्रममा देखिएका जटिलताको किनारा लगाउन सत्तारुढ तथा विपक्षी दलसँग चरणबद्ध एकपक्षीय र बहुपक्षीय छलफल चलाइरहनुभएको छ ।
कार्यदलको बैठक बालुवाटारमा जारी
संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
कार्यदलको अवधि भोलि सकिने भएकाले संविधानका विवादित विषयलाई कसरी सहमति गरी टुङ्गो लगाउने भन्नेबारे छलफल भइरहेको बुझिएको छ ।
आ–आफ््ना दलका तर्फबाट आधिकारिक धारणा र अधिकार लिएर दुई दिनभित्र सहमतिको प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको कार्यदलमा प्रमुख तीन राजनीतिक दल काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका तर्फबाट एक÷एक प्रतिनिधि सहभागी रहेका छन् ।0
