समाचारआइतबार, पौष १३, २०७१
आम हडताल नगर्न चेम्बरको आग्रह
हालै ३० राजनीतिक दलद्वारा गर्ने भनिएको आमहडतालको समाचारले नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको चेम्बरले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
चेम्बरले समस्याको निकास वार्ता र सहमतिद्वारा गर्न सरकार र सम्पूर्ण राजनैतिक दलहरुलाई अनुरोध गरेको छ ।
करिब एक दशकभन्दा लामो द्वन्द्वबाट क्षत्विक्षत् भएको नेपालको आर्थिक क्षेत्रलाई बन्द हडतालजस्ता कार्यक्रमहरुले थप धराशायी बनाउने निश्चित छ भन्दै चेम्बरले विज्ञप्तिमा बन्दले दैनिक ज्यालादारी गर्ने वर्गलाई ज्यादै सङ्कटमा पार्नुका साथै सर्वसाधारण नागरिकको दैनिक जीवन कष्टकर बनाउने हुनाले आमहडताल फिर्ता लिई सहमतिबाट नै अघि बढ्न अनुरोध गरेको छ ।
राजनीतिक समस्यालाई सबै राजनीतिक पार्टीहरुले सहमति, सहकार्य र एकताको आधारमा समाधान गर्नुपर्नेे विद्यमान परिस्थितिमा अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने यस्ता कार्यहरु कुनै पनि पक्षबाट हुनु हुन्न भन्ने निजी क्षेत्रको दृढ विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।
