समाचारसोमबार, पौष १४, २०७१
दलहरुबीच कुरो मिलेन, फेरि छलफल गर्ने
विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा १४ पुस बिहान बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको बैठक कुनै निष्कर्षमा नपुगेको हो ।
तर, बैठकपछि बाहिरिने क्रममा दलका नेताहरुले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । उनीहरुले सहमतिमा नपुगेको तर निष्कर्ष पनि नआएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवहारिक निष्कर्षमा पुग्न नसकेको बताए । “विवाद टुंगिने–नटुंगिने भन्ने अझै थाहा छैन,” उनले भने, “तर, उहाँहरुले लचकता नदेखाएको भन्न सकिन्न ।”
उनले दलहरुबीच सहमति हुनै नसक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । “सहमति गर्न पनि तर्कपूर्ण र व्यवहारिक रुपमा अघि बढ्नुपर्ला नि ?” उनले भने ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठक सकारात्मक र नकारात्मक दुवै भन्न नसकिने बताए । उनले भने, “कुरा मिलिसकेको पनि छैन, नमिलेको भन्ने पनि होइन ।”
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नयाँ संविधानका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको बताए । उनले विवादित विषयमा छलफल भए पनि सहमतिमा पुग्न नसकिएको प्रतिक्रिया दिए ।
सहमति जुटाउन नसकेका दलहरुबीच १६ पुसमा फेरि बैठक बस्ने सहमति भएको छ ।
