समाचारसोमबार, पौष १४, २०७१
संविधान निर्माणको विधिबारे निर्णय गर्न सभासदको दबाब
नेपाली कांग्रेस र नेकपा एमालेका सभासदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई संविधान बनाउने विधिको विषयमा चाँडो निर्णय गर्न दबाब दिएका छन् । संविधानसभाको १४ पुसको बैठकमा बोल्दै सभासदले अब संविधानसभा अध्यक्षले निर्णय लिनुपर्ने बताएका हुन् ।
बैठकमा एमाले सभासद सुरेन्द्र पाण्डेले संविधान निर्माणका लागि गतिशील हुन नेम्बाङलाई आग्रह गरे । व्यवस्थापिका संसदजस्तो संविधानसभाका अध्यक्षले तटस्थ भूमिका निभाउनु नपर्ने उनको भनाइ छ ।
तर, सभासद पाण्डेलाई बीचैमा रोक्दै नेम्बाङले नियमावलीमा नै आफ्नो भूमिका तटस्थ बनाएको बताए । उनले संवैधानिक राजनीति संवाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राख्न पाण्डेलाई आग्रह गरे ।
बैठकमा कांग्रेस सभासद अर्जुनप्रसाद जोशीले संविधान जारी गर्ने भनिएको मिति आउनै लाग्दासमेत संविधानका विषयवस्तु र संविधान जारी गर्ने विधिको विषयमा अनिर्णय हुनु नहुने बताए ।
