समाचारमंगलबार, पौष १५, २०७१
प्रक्रियामा गएर संविधान जारी गर्न विभिन्न सङ्घ–संस्थाको आग्रह
प्रजातान्त्रिक विचार समाजले १५ पुसमा काठमाडौंमा आयोजना गरेकोे छलफल कार्यक्रममा निर्धारित समयमै संविधान जारी गर्न संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङ तथा राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ ।
समाजका अध्यक्ष डा.केदारनरसिंह केसीको अध्यक्षतामा भएको सो छलफलमा डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल शिक्षक सङ्घका अध्यक्ष केशव निरौला, अधिकारकर्मी चरण प्रसाईं, अधिवक्ता शेरबहादुर केसी, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्ले, प्रजातान्त्रिक विचार समाजका महासचिव सुरेश भट्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, इन्जिनियर किशोर शाक्यलगायतले प्रक्रियामा गएर भए पनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
लामो समयसम्म जारी राजनीतिक गतिरोधको निकास संविधान निर्माणसँगै अन्त्य हुने भएकाले सबै दलले त्यसलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
संविधान निर्माणमा थप दबाब दिन डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, मानव अधिकार सङ्घ, नेपाल इन्जिनियर्स एसोसिएसन र प्रजातान्त्रिक चिकित्सक सङ्घ लगायतका ६ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गरी संविधान निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, नेपाल नागरिक समाजको एक प्रतिनिधिमण्डलले संविधानसभाका अध्यक्ष नेम्वाङसँग भेट गरी संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्न माग गरेको छ ।
संविधानसभाका अध्यक्ष नेम्वाङले मुख्य दलहरूले संविधान निर्माणलाई निष्कर्षमा पु¥याउन केही दिनभित्र सहमति गर्न नसके आफू हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताएकोे समाजका महासचिव डीपी अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रासस
