थप समाचारबुधबार, पौष १६, २०७१
अव सजिलै सगरमाथा
७ पुसमा उद्घाटन भएको उदयपुर–ओखलढुंगा
जोड्ने सुनकोशी नदीमाथि निर्मित १७० मिटर लामो र पाँच मिटर चौडा पक्की पुलले मुख्यतः हवाईयात्रामा निर्भर विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुग्ने दूरी छोट्याएको छ।
मध्यपहाडी लोकमार्गको यो पुल सञ्चालनसँगै राजधानीबाट २८५ किमि टाढाको सोलुखुम्बु सदरमुकाम सल्लेरी अब नौ घण्टामा पुग्न सकिनेछ, जुन काठमाडौंबाट दोलखाहुँदै सगरमाथा आधार शिविर पुग्न असजिलो मान्ने पर्यटकलाई उपयुक्त विकल्प हो।
सल्लेरीबाट एक सातामै सगरमाथा आधार शिविर पुगिने भएकाले पर्यटकको आकर्षण बढ्ने ओखलढुंगाका पर्यटन व्यवसायी रुद्र राई बताउँछन्।
पुल सञ्चालनसँगै पूर्वी पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङको विकासको ढोका खुलेको पर्यटन व्यवसायी डेण्डी शेर्पा बताउँछन्। पैदलयात्रा कठिन भएकाले अधिकांश भारतीय दर्शनार्थी हेलिकोप्टर चार्टर गरेर मात्र पुग्ने खोटाङको प्रसिद्ध हलेसी महादेवको दर्शन पनि यसले सहज बनाइदिएको छ।
अब हलेसी पुग्ने पर्यटकको संख्या बढ्ने तथा खोटाङ र सोलुखुम्बुमा प्याकेजमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी शेर्पाको विश्वास छ। पुल निर्माणसँगै पूर्वी पहाडी जिल्लाको विकासका लागि लैजानुपर्ने निर्माण सामग्रीसँगै उपभोग्य सामानको मूल्यसमेत सस्तो हुने ओखलढुंगा उद्योग वाणिज्य संघका कोषाध्यक्ष निरज केसी बताउँछन्।
२६ असार २०५९ मा चार वर्षभित्र काम सक्ने गरी रु.१४ करोड ६० लाखमा वाइबा भैरव कन्स्ट्रक्सन जेभीले पुल निर्माणको सम्झौता गरे पनि काम गर्ने वातावरण नहुनुलगायतका कारणले निर्माण ढिलो हुँदा यसको लागत रु.२० करोड ४३ लाख पुग्यो।
पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटा ८५ मिटरका दुई स्पान जोडिएको स्टिल ट्रस ब्रिजको कुल वजन ५७० टन रहेको बताउँछन्।
रामजी दाहाल, ओखलढुंगा
